एजेन्सी ।
रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा पुगेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा रियल भालाडोलिडमाथि संघर्षपूर्ण १–० को जित निकाल्दै बार्सिलोनालाई तीन अंकले पछि पारेर रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको हो ।
भ्रमण टोली रियल मड्रिडका लागि एक मात्र गोल डिफेन्डर नाचोले गरे । उनले ७८ औँ मिनेटमा गरेको गोल नै महत्वपूर्ण जितका लागि पर्याप्त बन्यो ।
साबिक विजेता बार्सिलोना शनिबार राति भएको खेलमा भ्यालेन्सियासँग २–० ले पराजित भएको थियो । त्यसले गर्दा आइतबार राति भएको खेलमा जित निकालेपछि जिनेदिन जिदानको टिम रियल मड्रिडले तीन अंकको अग्रता कायम गर्न सफल भएको हो ।
शीर्ष स्थानको रियल मड्रिडको २१ खेलबाट ४६ अंक भएको छ। बार्सिलोनाको समान खेलबाट ४३ अंक छ ।
आइतबार राति नै भएका खेलमा गेटाफेले रियल बेटिसलाई १–० तथा रियल सोसिडाडले मालोर्कालाई ३–० ले पराजित गरेका छन् । यस्तै सेल्टा भिगो र एइबर तथा एथ्लेटिको मड्रिड र लेगानेसले गोलरहित बराबरी खेलेका छन् ।
प्रतिक्रिया