मायादेवी अनलाइन, चारनम्बर ।
विश्व कुष्ठरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम जनचेतना कार्यकम गरी मनाइएको छ । दिवसको अवसरमा कपिलवस्तुका वाणगंगा र बुद्धभूमि नगरपालिकाका स्वास्थ्य शाखाले विभिन्न कार्यक्रम आयोजना गरेका थिए ।
वाणगंगामा आयोजित कार्यक्रममा वाणगंगा नगरपालिकामा १६ जना कुष्ठरोगी फेला परेको तथ्य सार्वजनिक गरिएको छ । जसमध्ये बडा नम्बर १ र २ मा ४ जना, ३ र ४ मा ४ जना रहेका छन् भने बडा नम्बर ५ र ६ मा २ जना कुष्ठरोगी भेटिएका हुन् । त्यसैगरी वडा नम्बर ७ र ८ मा ५ जना कुष्ठरोगी भएको तथ्याङकले देखाएको छ ।
यता वडा नम्बर ९, १० र ११ मा भने शुन्य कुष्ठरोगी रहेको गजेहडा स्वास्थ्य चौकी प्रमुख द्रोण प्रसाद बेल्बासेले बताउनुभयो । वडा नम्बर ३ र ४ मा फेला परेका ४ जनाको भने उपचार भएको उहाले बताउनुभयो ।
६७ औँ विश्व कुष्ठरोग दिवसको अवसरमा आयोजना गरिएको कायक्रममा उक्त कुराको जानकारी दिइएको हो । ‘कुष्ठरोग विरुद्ध हाम्रो अभियान, भेदभावको अन्त्य मानव अधिकारको सम्मान’ भन्ने मूल नाराका साथ कपिलवस्तुमा पनि विश्व कुष्ठरोग दिवस मनाइएको छ ।
कार्यक्रममा कुष्ठरोग तथा अन्य अपाङता भएका व्यक्तिहरु, विभिन्न संघसंस्थाका प्रमुख तथा जनप्रतिनिधि, सर्वसाधारण, सञ्चारकर्मी लगायत ४० जना भन्दा बढी उपस्थिति रहेको थियो । बाणागंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ठगराज अधिकारीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रमको सञ्चालन गजेहडा स्वास्थ्य चौकी प्रमुख द्रोण प्रसाद बेल्बासेले गर्नुभएको थियो ।
यता बुद्धभूमि नगरपालिकामा ७७ जना कुष्ठरोगी रहेको पाइएको छ । ६७औं अन्तर्राष्ट्रिय कुष्ठरोग दिवसको अवसरमा आयोजित कार्यक्रममा नगरपालिकको स्वास्थ्य शाखाले उक्त कुराको जानकारी दिइएको हो ।
वडा नं. ४ का वडाध्यक्ष पवन कुमार थारुको अध्यक्षतामा भएको कार्यक्रममा कुष्ठरोगबारे सहजिकरण गर्दै हरिहरपुर स्वास्थ्य चौकीका प्रमुख कमल ज्ञवालीले कुष्ठरोग निवारका लागि दीर्घकालिन योजना आवश्यक रहेको बताउनुभयो । समुदायमा कुष्टरोगीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको भन्दै ज्ञवालीले सरकारले रोगीको स्वास्थ्यपोचार निशुल्क गर्दै आएपनि सोचाईमा परिवर्तन आउन नसकेको बताउनुभयो ।
कुल १० हजार जनसंख्यामा एक जना मात्र कुष्ठरोगी हुनुलाई स्वास्थ्यको भाषामा राम्रो मानिन्छ । तर, बुद्धभूमिमा कुल १० हजार जनसंख्या मध्ये १० जनामा कुष्ठरोगी रहेको नगरपालिकाका स्वास्थ्य अधिकृत गोकर्ण अर्यालले बताउनुभयो ।
कार्यक्रममा कालिका स्वावलम्वन सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक अर्जुन थापा, महुवा स्वास्थ्य चौकीका प्रमुख विष्णु पौडेल लगायतले कुष्टरोग अन्त्यका लागि सामाजिक विचारमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभएको थियो ।
प्रतिक्रिया