१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

बुद्धभूमिको बसन्तपुरमा ‘थारु संग्राहलय’ स्थापना



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तु बुद्धभूमि नगरपालिकाको बसन्तपुरमा थारु संग्राहलय स्थापना गरिएको छ । वडा नं. १ र थारु समुदायको पहलमा बसन्तपुरको चिल्ड्रेन पार्कमा थारु संग्राहलयको स्थापना गरिएको हो । बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले संग्राहलयको उद्घाटन गर्नुभयो । थारु समुदायको पुराना कला, संस्कृतीको जगेर्ना गर्नका लागि संग्राहलयले महत्वपूर्ण भूमिका खेल्ने नगर प्रमुख श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो । संग्राहलय उद्घाटन पछि मायादेवीसंग कुराकानीको क्रममा उहाँले संग्राहलयलाई आगामी दिनमा अझ व्यवस्थित बनाउने बताउनुभयो ।
उक्त संग्राहलयमा आदिवासी थारु जातिका कला संस्कृति झल्कने भेषभूषा, गरगहना, उनीहरूले प्रयोग गर्ने विभिन्न कृषि उपकरणसमेत राखिएको वडा अध्यक्ष तेज बहादुर बस्नेत ‘तिलक’ले मायादेवीलाई बताउनुभयो । गत बर्षदेखि संग्राहलय निर्माण गर्न थालिएको र यस बर्ष पूरा भएको वडाध्यक्ष बस्नेतले बताउनुभयो । वडामा थारु जातिको मौलिक कला संस्कृति जोगाउने अभियानका साथ संग्राहलय निर्माण गर्न खोजिएको उहाँको भनाई छ ।
नगरपालिकामा थारु समुदायको राम्रै बसोबास रहेको छ । धर्तीपुत्रको रुपमा मानिने थारु समुदायले आफ्ना पुराना कला, संस्कृतीको जगेर्ना स्वरुप संग्राहलय स्थापनामा महत्वपूर्ण चासो राख्दै आएका छन ।
जिल्लाको राजमार्ग क्षेत्रभित्र बसोबास रहेको थारु समुदायले बुद्धभूमि नगरको गोरुसिंगेमा पनि संग्राहलयको स्थापना गरेका छन । थारु कला संस्कृतिको नमूना नगरको रूपमा परिचय स्थापित गर्न तथा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्धेश्यले थारु संग्राहलय निर्माणमा ध्यान दिन थालिएको छ । उक्त अवसरमा संग्राहलयको साथमा थारु दिवारको पनि उद्घाटन गरिएको थियो ।

‘थारु संग्राहलय’ उद्घाटन पश्चात आगरबत्ती बाल्दै नगर प्रमुख केशव कुमार श्रेष्ठ ।

प्रकाशित मिति : १२ माघ २०७६ आइतबार ००:००  ४ : ३८ बजे