काठमाडौं ।
स्वास्थ्य मन्त्रालयले दिएको एम्बुलेन्समा गाँजा तस्करी हुने गरेको पाइएको छ । मन्त्रालयले स्वास्थ्य चौकी डुमरीया रौतहटलाई दिएको बा२झ १७४९ नम्बरको एम्बुलेन्समा गाँजा तस्करी भएको पाइएको हो । मनहरीबाट हटौडातर्फ जाँदै गरेको उक्त एम्बुलेन्सलाई हेटौंडामा चेकजाँच गर्दा प्रहरीले ३० किलो ६०० ग्राम गाँजासहित ३ जनालाई एम्बुलेन्स नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा एम्बुलेन्स चालक रौतहटको डुमरीया नगरपालिका–९ का ३९ वर्षीय महमद खलिद, डुमरीया–४ का १९ वर्षीय अशोक कुमार र भातर बिहार मोतिमारी बसन्तपुरका २२ वर्षीय विनोद सहनी छन् ।
३ वटा झोलामा ६ वटा प्याकेट बनाएर ३० किलो गाँजा तस्करी गरेको पाइएको प्रहरीले जनाएको छ। एम्बुलेन्सबाट ९१ हजार रूपैयाँ पनि बरामद भएको छ । एम्बुलेन्ससहित नियन्त्रणमा लिइएकाहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम दुईदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना तथा सवारी साधनसमेत जफत हुने व्यवस्था छ । सोही ऐनअनुसार उनीहरूमाथि कारबाही हुने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया