काठमाडौं ।
नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीचको बैठक सकिएको छ । आइतबार विहान साढे ८ बजेदेखि सुरु भएको बैठकमा चार विषयमा छलफल भएको बालुवाटार निकट स्रोतले जानकारी दिएको छ । छलफल भएका विषयहरुमा द्वन्द्वकालीन मुद्दा, उपसभामुख चुनाव, केन्द्रीय कमिटी बैठक र विभिन्न निकायका नियुक्तीलगायत छन् ।
पार्टीका स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटा सभामुखमा निर्विरोध चयन भए पनि उपसभामुख उम्मेदवार कसलाई बनाउने भन्ने नेकपाले तय गर्न सकेको छैन । उपसभामुखका लागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) मुख्य रुपमा दावेदार देखिएका छन् ।
यसमध्ये प्रचण्ड उपसभामुखको जिम्मेवारी नेपाली कांग्रेसलाई दिनुपर्ने पक्षमा छन् भने ओली राजपाबाट उपसभामुख बनाउनुपर्ने पक्षमा छन् । यद्यपी, ओली(प्रचण्डबीच आजको भेटवार्तामा नेकपा केन्द्रीय कमिटी बैठकबारे छलफल भएको थियो । नेकपाले केन्द्रीय कमिटी बैठक १५ माघका लागि बोलाएको छ ।
पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी प्रचण्डले पाए पनि महत्वपूर्ण विषय आपसी सहमतिमा टुङ्ग्याउने समझदारी अनुसार प्रचण्डले ओलीसँग परामर्श गर्ने गरेका छन् । शीर्ष नेताद्वयबीच उपरोक्त विषयमा शनिबार (११ माघ) मा पनि बालुवाटारमा छोटो वार्ता भएको थियो । तर, ओलीको समय अभावका कारण आजका लागि बैठक सारिएको थियो ।
१२ माघ २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया