१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

भारतको ७१ औँ गणतन्त्र दिवस, ककसले पाउँदैछन् विभुषण ?




काठमाण्डौँ ।
भारतले आइतबार ७१ औँ गणतन्त्र दिवस मनाउँदैछ । गणतन्त्र दिवसको अवसरमा राजधानी दिल्लीको राजपथमा हुने परेडमा ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो प्रमुख अतिथि रहने छन् ।

भारतीय राष्ट्रपति रामनाथ कोविन्दले परेडमा उपस्थित भएर सलामी लिने छन् । परेड ९० मिनेटसम्म चल्ने छ । यसमा सैन्यकला सँगै देशको सांस्कृतिक, सामाजिक तथा आर्थिक स्थितिबारे पनि विभिन्न झलकहरु देखाइने छ ।

यो वर्षदेखि राष्ट्रिय युद्ध स्मारकलाई पनि परेड कार्यक्रममा समेटिने भएको छ । यसअघि प्रधानमन्त्रीले अमर जवान ज्योतिमा पुष्पाञ्जली अर्पण गर्थे तर यो पटक प्रधानमन्त्री नरेन्द्र मोदी युद्ध स्मारक जाने छन् ।

त्यसपछि राजपथमा राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रिय झण्डा फहराउने कार्यक्रम हुनेछ । लगत्तै २१ तोपको सलामी दिइने छ । गणतन्त्र दिवसको पूर्वसन्ध्यामा राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रका नाममा सम्बोधन गर्दै एकताका लागि आह्वान गरेका थिए ।

भारत सरकारले ७१ औँ गणतन्त्र दिवसको अवसरमा आइतबार विभिन्न व्यक्तिलाई पद्म पुरस्कार प्रदान गर्दैछ । गणतन्त्र दिवसको पूर्वसन्ध्यामा शनिबार बेलुका राष्ट्रपति रामनाथ कोविन्दले १४१ पद्म पुरस्कार अनुमोदन गरेका हुन् ।

यसमा सात पद्म विभूषण, १६ पद्म भूषण र ११८ पद्म श्री सम्मान रहेका छन् । यो वर्ष ३३ महिलाले पद्म पुरस्कार पाउने भएका छन् । यस्तै १८ जना गैरभारतीय सम्मानित हुँदै छन् । १२ जनालाई मरणोपरान्त सम्मानित गरिएको छ ।

पूर्व केन्द्रीय मन्त्री अरुण जेटली, सुषमा स्वराज र जर्ज फर्नाडिसलाई मरणोपरान्त पद्म विभूषण प्रदान गरिएको छ । बक्सिङ खेलाडी एमसी मेरी कोम, शास्त्रीय गायक पण्डित छन्नूलाल मिश्राले पनि भारतको दोस्रो ठूलो नागरिक सम्मान पद्म विभूषण प्रदान गरिएको छ ।

यस्तै पूर्व केन्द्रीय मन्त्री मनोहर पर्रिकर (मरणोपरान्त), ब्याडमिन्टन खेलाडी पीवी सिन्धु, उद्योगपति आनन्द महिन्द्रा र वेणु श्रीनिवासनलाई पद्म भूषण प्रदान गरिएको छ । यस्तै नागाल्याण्डका पूर्व मुख्यमन्त्री एसजी जमीर र जम्मू–कश्मीरका नेता मुजफ्फर हुसैन बेगले पनि पद्म भूषण प्राप्त गरेका छन् ।

यस्तै अभिनेत्री कंगना रनौत, चलचित्र निर्माता एकता कपूर, करण जौहर, गायक सुरेश वाडकर र अदनान सामीसहित ११८ जनालाई पद्म श्री सम्मान प्रदान गरिएको छ ।

प्रकाशित मिति : १२ माघ २०७६ आइतबार ००:००  १० : ३७ बजे