काठमाण्डौँ ।
काठमाण्डाै । प्रतिनिधि सभाको नयाँ सभामुख चयनका लागि आइतबार बैठक बस्दै छ । दिउँसो ३ बजेपछि बोलाइएको प्रतिनिधि सभाको बैठकले सभामुख चयनको औपचारिकता पूरा गर्ने संसद् सचिवालयले जनाएको छ ।
सभामुखमा नेकपाका अग्नि सापकोटाको मात्र उम्मेदवारी परेकाले उहाँ सभामुख बन्ने निश्चित जस्तै छ । आइतबारकाे बैठकले प्रक्रिया पूरा गरी उहाँलाई सभामुखमा निर्विरोध चयन भएको घोषणा गर्ने तयारी रहेको सचिवालयले जनाएको छ ।
आइतबारकाे बैठकमा प्रस्तावक सुवासचन्द्र नेम्वाङले उम्मेदवारीको प्रस्ताव पेस गर्ने र प्रस्तावमा समर्थकहरु नेकपाका देव गुरुङ्ग र ओनसरी घर्ती तथा राजपाका लक्ष्मणलाल कर्णले समर्थन गर्नु हुनेछ ।
यौन दुर्व्यवहारकाे आराेपमा तत्कालीन सभामुख कृष्णबहादुर महरा पक्राउ परेपछि सत्तारुढ नेकपाले उम्मेदवार चयन गर्न नसक्दा हिउँदे अधिवेशन सुरु भएकाे झण्डै डेढ महिनासम्म पनि प्रतिनिधि सभाले सभामुख पाउन सकेको छैन ।
यसैबीच सभामुखका उम्मेदवार सापकोटालाई पक्राउ गर्ने आदेश माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा पनि आइतबार सुनुवाइ हुँदैछ । अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार दायर गरेको रिटमाथि सर्वाेच्च अदालतले पेसी तोकेको हो ।
सापकोटालाई सभामुख बनाउन लागिएको विरोधमा राष्ट्रपति विद्यादेवी भण्डारीका मुख्य सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिनु भएको छ ।
सभामुख घोषणा भएपछि कसरी अगाडि बढ्ने भन्नेबारे सत्ता पक्ष र विपक्षी काग्रेशबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरवहादुर देउवाबीच मुलुकको समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल भएको बताइएको छ ।
नेताहरूबीच मुलुक सञ्चालन गर्दा साझा सहमति र सहकार्यका आधारमा अगाडि बढ्ने सहमति भएको छ ।छलफलमा सहभागी नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले मुलुक सञ्चालन गर्दा कतिपय कुरा प्रतिपक्षसँग पनि मिलेर गर्नुपर्ने भएकाले प्रधानमन्त्रीले प्रतिपक्ष दलका नेतासँग छलफल गरेको जानकारी दिए । उनका अनुसार संसद् सञ्चालनदेखि राजनीतिक नियुक्तिसम्म सबै सहमतिका आधारमा गर्ने सहमति भएको छ ।प्रधानमन्त्रीले बोलाएको बैठकमा संसद सञ्चालन र विश्वविद्यालयमा नियुक्तिबारे छलफल भएको कांग्रेस सभापति देउवाका स्वकीय सचिव भानु देउवाले उल्लेख गरे ।
प्रतिक्रिया