एजेन्सी ।
महत्वपूर्ण खेलमा बार्सिलोना पराजित भएको छ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना भ्यालेन्सियासँग २–० ले पराजित भएको हो । अवे मैदानमा भएको खेलमा बार्सिलोनाले दुवै गोल दोस्रो हाफमा खाएको हो । भ्यालेन्सियाका लागि दुवै गोल म्याक्सी गोमेजले गरे । उनले ४८ र ७७ औँ मिनेटमा गोल गरेका हुन् । भ्यालेन्सियाले बार्सिलोनालाई आफ्नै मैदानमा सन् २००७ पछि पहिलो पटक पराजित गरेको हो ।
बार्सिलोनाको प्रशिक्षकको जिम्मेवारी सम्हालेपछिको किके शतिएनको पहिलो हार हो । लियोनल मेस्सीसहितको बार्सिलोनाले यो खेलमा जित निकालेर वा बराबरी गरेर रियल मड्रिडसँगका अंक दूरी कायम गर्ने मौका गुमायो ।
पराजित भएको बार्सिलोना २१ खेलबाट ४३ अंकसहित शीर्ष स्थानमा छ । एक खेल कम खेलेको रियल मड्रिडको पनि ४३ अंक नै छ । बार्सिलोनालाई पराजित गरेको भ्यालेन्सिया २१ खेलबाट ३४ अंकसहित पाँचौँ स्थानमा पुगेको छ ।
शनिबार राति भएका अरु खेलमा भिल्लारियलले एलाभेसलाई २–१ तथा सेभिल्लाले ग्रानाडालाई २–० ले पराजित गरेका छन् । यस्तै स्पानियोल र एथ्लेटिको बिल्बाओले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
प्रतिक्रिया