१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कोरियाली पासपोर्ट बोकेर ६ भियतनामी नेपालमा, मोजामा लुकाइएको थियो



काठमाडौं । दक्षिण कोरियाली बन्न खोज्दा ६ जना भियतनामी अध्यागमनको फन्दामा परेका छन् । कारण थियो– उनीहरूसँग दक्षिण कोरियाको नक्कली पासपोर्ट हुनु । भियतनामबाट मलेसियाको क्वालालम्पुर हुँदै मालिन्डो एयरबाट उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका थिए । उनीहरू कोरियाको नक्कली पासपोर्टमा माघ १ गते नेपाल प्रवेश गर्न खोजेका थिए ।कोरियाली बनेर नेपाल प्रवेश गर्न खोज्ने शंकास्पद भियतनामका नागरिकलाई त्यही बेला अध्यागमनका अधिकारीले नियन्त्रणमा लिएका थिए ।

जति बेला उनीहरू अध्यागमन डेस्कमा नेपाल प्रवेश गर्ने अनुमति पर्खिंदै थिए ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले सी ७८७९९३३, सी ६१०५३४७, सी ८२७२२१८, सी ६१२९५२३, सी ६७६१५०४ र सी ६१८४९३० नम्बरका राहदानीवाहक भियतनामीलाई पक्राउ गरेको थियो । अध्यागमन विभागका अनुसन्धान अधिकृत वैकुण्ठराज रेग्मीले नक्कली राहदानीवाहक भियतनामीलाई निष्काशन गरिएको बताए । ‘जनही ५० हजार जरिवाना गराएर निष्काशन गरेका हौं’, रेग्मीले भने ।

भियतनामीले प्रयोग गरेको दक्षिण कोरियाको नक्कली पासपोर्ट विभागले जफत गरेको छ । जुनसुकै मुलुकको भिसा सजिलै पाउने भएकाले भियतनामीले दक्षिण कोरियाको पासपोर्ट प्रयोग गरेको हुन सक्ने अध्यागमन अधिकारीले बताएका छन् ।उनीहरूले भियतनाममा मानव तस्करमार्फत प्रतिपासपोर्ट २ सय डलरमा खरिद गरेको खुलेको छ । दलालले भियतनामको पासपोर्ट प्रयोग गर्दा कतिपय मुलुकले भिसा नदिने भएकाले दक्षिण कोरियाको प्रयोग गर्न सुझाव दिएको बयान उनीहरूले दिएका थिए ।तस्करको सेटिङमा परेका उनीहरूले नेपाल प्रवेशका लागि पनि दक्षिण कोरियाकै पासपोर्ट प्रयोग गरे ।

भियतनामीलाई नेपालले सहजै आगमन भिसा दिँदै आएको छ । दक्षिण कोरियाको नक्कली पासपोर्ट लिएर उनीहरू घुम्नका लागि मात्र नेपाल आएका थिएनन् ।नेपाललाई ‘ट्रान्जिट’ बनाई युरोप, अमेरिका, क्यानडालगायत विकिसित मुलुक प्रवेश गर्ने उद्देश्यले ती भियतनामीले नक्कली पासपोर्टमार्फत दक्षिण कोरियाली नागरिक बन्न कोसिस गरेका थिए । कोरियाली पासपोर्टमा काठमाडौं ओर्लिएका भियतनामीले अध्यागमन डेस्कमा केही अस्वाभाविक व्यवहार देखाएका थिए ।त्यसपछि अध्यागमन डेस्क अधिकारीले उनीहरूप्रति आशंका गरेका थिए ।

विमानस्थलस्थित अध्यागमनका अधिकारीले उनीहरूको पासपोर्ट परीक्षण गरेका थिए । भियतनामीले प्रयोग गरेको कोरियाको पासपोर्ट नक्कली भएको अध्यागमन अधिकारीले थाहा पाए । अनुसन्धानका क्रममा उनीहरूको मोजामा लुकाएर राखेको भियतनामको पासपोर्ट भेटिएको थियो । दुवै मुलुकको पासपोर्टसहित थप अनुसन्धानका लागि उनीहरूलाई एक रात विभागको हिरासतमा राखिएको थियो ।

कोरियाको पासपोर्ट नक्कली पुष्टि भएपछि विभागले उनीहरूलाई एक वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाई निष्काशन गरेको छ । उनीहरूले अब सन २०२० भित्र नेपाल प्रवेश गर्न पाउनेछैनन् । सुरुमा उनीहरूले आफूहरू कोरियाली भएको दाबी गरे पनि अध्यागमन अधिकारीले अनुसन्धानका क्रममा उनीहरूको साथबाट भियतनामको पासपोर्टसमेत बरामद गरेका थिए ।अन्नपूर्णबाट लिएका हौँ ।

प्रकाशित मिति : १२ माघ २०७६ आइतबार ००:००  ६ : ४६ बजे