१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

तामाङ समुदायको सोनाम ल्होसार (नयाँ वर्ष), आज धुमधामका साथ मनाइदै




काठमाडौँ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात नयाँ वर्ष पर्व शनिबार विविध कार्यक्रम गरी मनाइँदैछ ।

मञ्जुश्री पात्रोअनुसार शनिबारदेखि २८५६औँ वर्ष सुरु हुन्छ । आजदेखि सुँगुर वर्ष पूरा गरी मुसा वर्ष प्रवेश भएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले जानकारी दिए । तामाङ जातिको बाहुल्यता रहेको बाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ । शनिबार मनाइने पर्वका अवसरमा बाग्मती प्रदेशले शुक्रबार नै प्रदेशभर सार्वजनिक बिदा दिएको थियो ।

पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउन लागेको समितिका अध्यक्ष चन्द्रमान लामाले जानकारी दिए ।

विश्व सम्पदा सूचिमा सूचिकृत बौद्ध क्षेत्रमा सोनाम ल्होसारलाई यसपटक नेपाल भ्रमण वर्षसँग जोडेर समेत प्रचारप्रसार गर्न सुरु भइसकेको पनि उनले बताए । नेपाल आउने धेरै पर्यटकको रोजाइमा बौद्ध क्षेत्र पनि पर्छ । तामाङ जातिको मौलिक वेशभूषा, सांस्कृतिक गतिविधि, खाना लगायतको प्रदर्शनसमेत गरिने ल्होसारमा धेरै पर्यटक आकर्षित गराउने काम सुरु भएको छ ।

बौद्ध क्षेत्रमा आज सांस्कृतिक झाँकीसहित बाजागाजाको र्‍याली निकालिनेछ । दिउँसो महेन्द्र बौद्ध माध्यमिक विद्यालय परिसरमा मूल समारोह समितिका तर्फबाट पर्यटन वर्षसमेत सफल बनाउन आह्वान गर्दै कार्यक्रम गरिने जनाइएको छ । यसैगरी राजधानीको स्वयम्भू क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी ल्होसार मनाइने जनाइएको छ ।

यस अवसरमा नेपाल तामाङ घेदुङलगायत संस्थाले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्ने जनाइएको छ । सोनाम ल्होसार महोत्सवका नाममा तामाङ खाना, वेशभूषा, कला संस्कृति लगायतको प्रदर्शन गरिने छ ।

यसैबिच राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायले मनाउने महान् पर्व सोनाम ल्होसार जस्ता चाडपर्व र संस्कृतिले राष्ट्रिय एकता सुदृढ पार्न एवम् सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको विश्वास व्यक्त गरेकी छन् ।

तामाङ समुदायले मनाउने महान् पर्व सोनाम ल्होसारको अवसरमा शनिबार शुभकामना सन्देशमार्फत स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् प्रगतिको कामना गर्दै राष्ट्रपति भण्डारीले यस प्रकारका चाडपर्वको अहम् राष्ट्रिय महत्व रहेको उल्लेख गरेकी छन् ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचलनमा हरेका भाषा, धर्म, संस्कृति, वेशभूषालगायत विविध बहुमूल्य सम्पत्तिलाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् । तामाङ समुदायले नयाँ वर्षका रूपमा मनाउँदै आएको प्रमुख चाड सोनाम ल्होसारका अवसरमा प्रधानमन्त्री ओलीले शनिबार शुभकामना व्यक्त गर्दै देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको समेत उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ११ माघ २०७६ शनिबार ००:००  ८ : ४४ बजे