काठमाण्डौँ ।
नेपाली कांग्रेसमा संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच देखिएको विवाद र असहमति टुंगिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शुक्रबार बिहान १० देखि साँझ साढे ४ बजेसम्म शीर्ष नेताहरूबीच भएको बैठकले ११ पुसमा भएको केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयबमोजिम नै पार्टीको १४औं महाधिवेशन ७–१० फागुन २०७७ मा हुने भएको छ ।पार्टी सभापति शेरबहादुर देउवाले २६ मंसिरमा बोलाएको पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा १४औं महाधिवेशनको कार्यतालिका पेश नगरेको भन्दै असन्तुष्ट नेताहरू रामचन्द्र पौडेल, महामन्त्री डा। शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले बहिष्कार गर्दै आएका थिए ।
आजको बैठकमा शीर्ष नेताबीच भएको सहमतिलाई बैधानिकता दिन १३ माघमा केन्द्रीय कार्यसमितिको बैठक बोलाउने सहमति भएको छ । बैठकमा देउवा, पौडेल, डा। शशांक, पूर्णबहादुर खड्का, सिंह र सिटौलाको उपस्थिति थियो ।अनौपचारिक बैठकमा नेपाल विद्यार्थी संघको विषयमा भने कुनै सहमति नभएकाले आइतबार फेरि अनौपचारिक बैठक गर्ने सहमति भएको छ ।
महाधिवेशनका लागि क्रियाशील सदस्यता छानबिन समिति गठन गर्ने विषयमा समेत सहमति भएको सहभागी सिटौलाले जनाए ।असन्तुष्ट पक्षले बहिष्कार गरे पनि सभापति शेरबहादुर देउवाले ११ पुसको केन्द्रीय कार्यसमितिको निर्णयमार्फत पार्टीको महाधिवेशन ७–१० फागुन २०७७ मा गर्ने, पार्टीका सबै संरचना र पदाधिकारीको पदावधि एक वर्ष थप गर्ने, विभागको संख्या २८ बाट बढाएर ४७ बनाउने निर्णय गराएका थिए ।
प्रतिक्रिया