मायादेवी अनलाइन, सैनामैना ।
नेकपाका प्रभावशाली नेता टोप बहादुर रायमाझीले प्रदेश ५ को स्थायी राजधानी रुपन्देही हुने सम्भावना रहेको बताउनु भएको छ । प्रदेशका जिल्लामध्ये रुपन्देही विकासमा अघि बढीसकेको र सबैको पायक पनि पर्ने भएकाले रुपन्देहीको बुटवल नै प्रदेशको स्थायी राजधानी हुने सम्भावना बढेको बताउनु भयो । सेनामैना नगरपालिका वडा नम्बर १० र ११ ले संयुक्त रुपमा आयोजना गरेको पार्टी प्रवेश तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै नेता रायमाझीले राजधानीको बहस चलिरहेको बेला यस्तो बताउनु भएको हो । उहाँले यसको सम्पूर्ण निर्णय गर्ने अधिकार प्रदेश सभामा भएको भए पनि बुटवलको सम्भावना बढी भएको बताउनु भएको हो ।
उहाँले बुटवल स्थायी राजधानी भए सबैलाई राम्रो हुने बताउनु भयो । नेकपाका स्थायी कमिटि सदस्य समेत रहनु भएका रायमाझीले आफुलाई विकासको नसा लागेको बताउनु भएको छ । अरुलाई के केको नशा लाग्छ कुन्नी उहाँले भन्नुभयो–‘मलाई विकासको नशा लागेको छ ।’ आफू जनताको सेवाको लागि राजनीतिमा होमिएको बताउँदै उहाँले आफ्नो क्षेत्र विकास गरेरै छाड्ने दृढता ब्यकत् गर्नुभयो । रायमाझीले राष्ट्रिय गौरवको आयोजनामा सालझण्डी ढोरपाटन सडक खण्डको काम समयमै सक्ने बताउनु भयो । उहाँले निर्माण जारी सो सडकखण्डमा पीचको काम एक बर्षमै सकिने ठोकुवा गर्नुभयो ।
कार्यक्रममा अर्घाखाँची र रुपन्देहीबाट नेकपामा प्रवेश गर्नेहरुलाई स्वागत गरिएको छ । रायमाझी, नेता जीव नारायण कोइराला, सेनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्की, उपमेयर विना राना लगायतले पार्टी प्रवेश गर्नेलाई टिका र खादाले स्वागत गर्नुभयो । कार्यक्रममा नेपाली काग्रेश अर्घाखाँचीका क्षेत्रीय सदस्य जाल बहादुर शारु, रुपन्देही सालझण्डीका उद्योगी ब्यावसायी चिन्तामणी घिमिरे लगायत बिभिन्न पार्टीका २० जना नेकपामा प्रवेश गरेका थिए ।
प्रतिक्रिया