काठमाडौं ।
सरकार सञ्चालनमा परामर्श नगरेको आरोप बेहोरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले परामर्श, छलफल थालेका छन् ।
बिहीबार प्रधानमन्त्री ओलीले पार्टीका वरिष्ठ नेता झलनाथ खनालसँग झण्डै चार घण्टा भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा पार्टी र सरकार सञ्चालनका विषयमा मन माझेर कुराकानी भएको थियो ।
“प्रधानमन्त्रीसँग लामो समयपछि भेटवार्ता भयो । सुख–दुःखका कुरा भए । प्रधानमन्त्रीको कार्यभार सम्हालिरहँदा आइपरेका कठिनाइ, चुनौतीका बारेमा कुराकानी भयो । मैले केही सल्लाह, सुझाव पनि दिएँ,” खनालले भने ।
पछिल्लो समय पार्टी अध्यक्ष समेत रहेका ओलीको कार्यशैलीप्रति वरिष्ठ नेताले प्रश्न उठाउँदै आएका थिए । पार्टीका औपचारिक–अनौपचारिक मञ्चमा नेता खनालले पार्टी, सरकारको कामकारबाहीप्रति पनि असन्तुष्टि राख्दै आएका थिए ।
१ भदौमा बसेको पार्टी सचिवालयको बैठकले नेता खनाललाई अर्का नेता माधव नेपालभन्दा वरियतामा माथि राखे पनि दुई नेताबीच सम्बन्ध हार्दिकतापूर्ण थिएन ।
सम्बन्धलाई हार्दिकतामा बदल्ने पार्टी र सरकार सञ्चालनमा मिलेर अगाडि बढ्न प्रधानमन्त्री तयार रहेको खनालको भनाइ छ ।
भेटमा प्रधानमन्त्रीले पार्टी र सरकार सञ्चालनमा सल्लाह, सुझावको पनि अपेक्षा गरेका थिए । केही ‘आत्मबोध’ पनि गरेका थिए ।
आफूले सबैलाई साथमा लिएर सरकार र पार्टीको कामकारबाही गर्न सुझाएको खनालको भनाइ छ ।
१० माघ २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया