भक्तपुर ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) लाई संसदले फेल गर्नुपर्ने बताएका छन् ।
सत्तारुढ नेकपाभित्रै एमसीसीको चर्को विरोध भइरहेका बेला पाका कम्युनिष्ट नेता बिजुक्छेंले देख्दा आर्थिक सहयोग भए पनि एमसीसी परियोजनाभित्र अमेरिकाको सैन्य स्वार्थ लुकेकाले संसदले अनुमोदन गर्न नहुने जिकिर गरेका हुन् ।
बिहीबार भक्तपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै बिजुक्छेंले संसदमा एमसिसी फेल गराएर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यहीँबाट राजीनामा घोषणा गरेर देशलाई निकास दिनु उत्तम हुने बताएका हुन् ।
उनले भने, ‘एमसिसी अनुमोदन भयो भने देशलाई फाइदा गर्दैन । देश बचाउने एउटै उपाय भनेको संसदमा फेल गराएर त्यहीँ परराष्ट्रमन्त्रीले राजीनामा दिनु नै हो ।’
बिजुक्छेंले अमेरिकाले बिजुलीको ट्रान्समिसन र सडकमा खर्च गर्न पैसा दिने भने पनि त्यो उसको चालबाजी मात्र भएको र सैनिक स्वार्थ पूरा गर्न सहयोगको घोषणा गरेको उनको दाबी थियो ।
एमसीसीमा पाँच वर्ष्भित्र खर्च गर्ने गरी अमेरिकाले ५५ अर्ब सहयोग गर्ने र त्यसमा अमेरिकाले १४ अर्ब थप्ने प्रस्ताव छ । उक्त सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभामा दर्ता भएको छ ।
बिजुक्छेंले अमेरिकाले पाँच वर्षमा दिने ५५ अर्ब देशका लागि ठूलो रकम नभएको दाबी गरे । ‘त्यति रकम त नेपालबाट अमेरिका पढ्न जाने विद्यार्थीले नै उसलाई बुझाउँछन् । त्यो लोभमा नपरौँ’, उनले भने ।
उनले केपी ओली नेतृत्वको सरकारको दुई वर्षे कार्यकाल सन्तोषजनक नभएको समेत मूल्यांकन गरे ।
प्रधानमन्त्रीले काम गर्ने कोसिस गरे पनि पर्याप्त नभएको बिजुक्छेंले उल्लेख गरे । ‘कोसिस गरिरहनुभएको छ । तर जसरी काम गर्नुपर्ने हो। त्यसरी काम गर्न सक्नुभएको छैन’, उनले भने ।
प्रतिक्रिया