९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

राष्ट्रिय सभा निर्वाचनः प्रदेश ५ मा तीनै जना नेकपाका उम्मेदवार विजयी



मायादेवी अनलाइन, चारनम्बर ।
विहीबार भएको राष्ट्रिय सभा निर्वाचनमा प्रदेश ५ को सबै मतपरिणाम आएको छ । प्रदेश नं. ५ को दाङमा भएको निर्वाचनमा कपिलवस्तुकी विमला घिमिरे, दाङका जगप्रसाद शर्मा र रुपन्देहीका गोपाल भट्टराई विजयी हुनुभएको छ । उहाँहरु तीनै जना नेकपा तर्फका उम्मेदवार हुनुहुन्थ्यो । घिमिरे महिला कोटाबाट चुनाव लड्नुभएको हो । शर्मा अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यकबाट र भट्टराई अन्य समूहबाट उम्मेद्वार बन्नुभएको थियो ।
घिमिरे ५७७८ मतभार सहित विजयी हुनुभएको हो । कपिलवस्तु निवासी घिमिरे नेकपाको केन्द्रिय सदस्य हुनुहुन्छ भने कपिलवस्तु सह इन्चार्ज रहनुभएको छ । उहाँ गत स्थानीय तहको निर्वाचनमा वाणगंगाको मेयरमा पराजित हुनुभएको थियो ।
यता शर्माले ५ हजार ४ सय २४ मत ल्याएर विजयी हुनुभएको हो । दाङ निवासी शर्मा यसभन्दा अगाडी प्रदेश सभामा पराजित हुनुभएको थियो । भट्टराईले ५ हजार ३ सय ८२ मत ल्याउनुभएको थियो ।
निर्वाचनमा कुल ३ सय ५ जना मतदाता थिए । जसमा ३ सय ३ मत खसेको थियो । दाङ नरैनापुरका उपाध्यक्ष मतदान गर्न आउनुभएन भने प्रदेशसभा सदस्य बलदेव शर्मा पोख्रेलको निधन भएपछि दुई मत नखसेको हो ।
८६ जना प्रदेशसभा सदस्य र प्रदेशका कुल १ सय ९ स्थानीय तहका प्रमुख उपप्रमुख २ सय १८ जनाले यो निर्वाचनमा मतदाता थिए । बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मतदान भएको हो ।
प्रदेश नम्बर ५ बाट राष्ट्रियसभा सदस्य रहेका रोल्पाका राजकुमार कुँवर, मीना बुढा र रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको २ वर्षे कार्यकाल सकिएपछि निर्वाचन भएको हो । तीन सिटका लागि नेकपा, नेपाली कांग्रेस, समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीबाट गरी ९ जना चुनावी प्रतिस्पर्धामा थिए ।
३ जना राष्ट्रिय सभासदस्य निर्वाचित हुने प्रदेश ५ बाट ९ जनाको उम्मेदवारी परेको थियो । अन्यतर्फ ४ जना नेपाली कांग्रेसका बालकृष्ण पाण्डे, नेकपाबाट गोपाल भट्टराई, राष्ट्रिय जनमोर्चाबाट शिवप्रसाद पौडेल र समाजवादी पार्टीबाट कृष्णप्रसाद अहिरको उम्मेदवारी परेको थियो ।
अपांगता तथा अल्पसंख्यक तर्फ तीनजना नेकपाबाट जगप्रसाद शर्मा, कांग्रेसबाट मेराज अहमद हलवाई र समाजवादीबाट सुनिलकुमार सिंगल चुनावी प्रतिष्पर्धा हुनुहुन्थ्यो ।
महिलातर्फ २ जना नेकपाबाट बिमला घिमिरे र कांग्रेसबाट गिरिजादेवी न्यौपाने चुनावी प्रतिष्पर्धामा हुनुहुन्थ्यो । अन्य, अपांगता÷अल्पसंख्याक तथा महिलाबाट एक÷एकजना निर्वाचित हुने कानुनी प्रावधान थियो ।
प्रदेशसभा सदस्यहरुको मतभार ४८ हुने छ भने स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ हुने छ । यसरी प्रदेश नम्बर ५ को कुलमत भार ८ हजार १ सय हुने छ । विजयी सांसदलाई निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र वितरण गरिसकेको छ ।

प्रकाशित मिति : ९ माघ २०७६ बिहिबार ००:००  ७ : १२ बजे