मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिका १, शिवपुर (रेन्जरपोष्ट) मा खानेपानी बोरिङको शिलन्यास गरिएको छ ।
प्रदेश सरकारको १५ करोड लगानीाट खानेपानी योजना निर्माण कार्य शुरु भएको हो । खानेपानी योजना सुचारु भएसँगै अब शिवपुरबासीले स्वच्छ पिउने पानी पाउने आशामा छन् । स्थानीयहरु अहिले खानेपानी तथा सरसफाई उपभोक्ता समिति गठन गरी निर्माण कार्यमा जुटेका छन् ।
प्रदेश सदस्य अर्जुन कुमार के.सी. ले यो योजनालाई जिल्लाकै नमूना बनाउन स्थानीय उपभोक्ता जुट्नुपर्नेमा जोड दिए । धाराको पानी सोझै हातले थापेर पिउन सकिने किसिमको बनाउन सबैले निगरानी बढाउनुपर्ने सुझाव दिए । सरकारले हरेक नागरिकको जीवनस्तर उकास्ने खालको योजना अघि सारेकाले अबको ५ वर्षभित्र देशको समृद्धिमा ठूलो परिवर्तन देखिने दाबी गरे । हरेक नागरिकका लागि रोजगारी सृजनाका लागि आफूले समेत सोही अनुसारको भिजन बनाई अघि बढ्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुले खानेपानी योजनाले शिवराज १ को विकासमा ठूलो सहयोग पु¥याउने विश्वास व्यक्त गरिन् । शिवपुरका बासिन्दाको हरेक स्थानमा सहभागिता भएपनि विकासमा उपेक्षित हुँदै आएका औल्याउँदै खानेपानी योजनाका लागि महत्वपूर्ण भूमिका खेल्ने प्रदेशसभा सदस्य के.सी.प्रति आभार प्रकट गरिन् । हरेक घरघरमा खानेपानी धारा पुगेर मात्र हुँदैन, हरेक उपभोक्ताले धाराको सही सदुपयोग र सुरक्षामा विशेष ख्याल गरेमा योजना सफल हुने विश्वास व्यक्त गरिन् । योजना सफलताको शुभकामना दिंदै उपप्रमुख थारुले नगरपालिकाबाट समेत आफूले सकेको सहयोग गर्ने आश्वासन दिइन् ।
यता वडा नं. १ का वडाध्यक्ष जगतबहादुर जि.सी.ले खानेपानी योजनाले शिवपुरबासीमा उत्साह थपिएको बताए । ९५ प्रतिशत रोग पानीकै कारणबाट लाग्ने औल्याउँदै वडाध्यक्ष जि.सी.ले स्वच्छ खानेपानी योजनाले शिवपुरबासीलाई स्वास्थ्य लाभमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रम सफलताको कामना गर्दै उनले आगामी दिनमा वडाबाट हुनसक्ने हरेक किसिमको सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरे ।
कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै खानेपानी डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख तिलक न्यौपानेले योजना सफल बनाउन सबैको सहयोगको अपेक्षा व्यक्त गरे । डिभिजन प्रमुख न्यौपानेले स्थानीयको सहयोग र सहकार्यविना योजना सफल नहुने बताउँदै नमूना योजना बनाउन सबैको साथ आवश्यक रहेकोमा जोड दिए । कार्यक्रमबारे जानकारी गराउँदै उनले सर्वेक्षण कार्य सम्पन्न भएको र डिपीआरको काम अन्तिम चरणमा रहेको बताए । उनले १५ करोडको लागतमा निर्माण हुन लागेको खानेपानी योजनाले ३ हजार घरधुरीले स्वच्छ पानी पिउन पाउने बताए । योजनामा ६० किलोमिटर पाइपलाइन विस्तार गर्ने स्टिमेट गरिएको जानकारी दिए ।
उपभोक्ता समिति अध्यक्ष ढुण्डीराज अधिकारीले योजना सफल पार्न सबैको सहयोगको अपेक्षा गरे । उनले योजनालाई पारदर्शी बनाउने विश्वास व्यक्त गर्दै स्थानीय सबैले आफ्नो ठानी साथ र सहयोग गर्न अपिल गरे । उनले सबैको सहयोग र सहकार्य भए योजनालाई नमूना बनाउन सकिने विश्वास व्यक्त गरे ।
बोरिङ सिलन्यास कार्यक्रममा जनप्रतिनिधि, बुद्धिजिवी, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।
९ माघ २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया