लण्डन ।
डेमोक्रेसी इन्डेक्समा नेपाल यसपालि ९२ औं स्थानमा परेको छ । सन् २०१८ मा नेपाल ९७ औं स्थानमा थियो ।
अहिले नेपाल पाँच स्थान उक्लिएको तथ्यांकमा देखाइएको छ । अन्तर्राष्ट्रिय पत्रिका इकोनोमिस्टले वर्षेनी निकाल्दै आएको इन्डेक्समा नेपाल सो सूचीमा परेको हो ।
बेलायतको चर्चित प्रकाशन समूह द इकोनोमिक ग्रुपको आफ्नो रिसर्च विभाग इन्टिेलिजेन्स युनिटको मद्धतले हरेक वर्ष यस खालको रिपोर्ट निकाल्ने गरिएको छ ।
सो रिपोर्ट विश्वका १६७ मुलुकको अध्ययनका आधारमा बनाइएको हो ।
भारतलाई २०१९ को सूचकांकमा ५१ औ स्थानमा राखिएको छ । यसभन्दा अघि भारत ४१ औं स्थानमा थियो । रिपोर्टमा विश्वकै सबैभन्दा ठूलो लोकतन्त्र भारतको समग्र स्कोरमा गिरावट आएको जनाइएको छ ।
भारतमा यसो हुनुमा काश्मीरको प्रसंगमा धारा ३७० हटाउनु, असममा एनआरसीको काम सुरु हुनु र विवादित नागरिकता कानुनको कारण नागरिकमा बढेको असन्तोषलाई मानिएको छ ।
ताजा रिपोर्टमा लोकतन्त्रका लागि २०१९ सबैभन्दा खराब भएको जनाइएको छ ।
विश्वमा गिरावटको मुख्य रुपमा ल्याटिन अमेरिकी, उपसहारा अफ्रिका र पश्चिम एशिया क्षेत्रमा देखिएको छ ।
अधिकांश एशियाली देशको सूचकांक २०१९ मा गिरावट भएको छ । नयाँ रिपोर्टमा नर्वे सबैभन्दा उच्च स्थानमा देखिएको छ भने अमेरिका रिपोर्टमा २५औँ स्थानमा रहेको छ ।
अष्ट्रेलिया नवौँ स्थानमा, जापान २४औँ स्थानमा, इजरायल २८ स्थानमा र बेलायत १४औँ स्थानमा रहेको पाइएको छ ।
नेपालको आसपास चीन १५३ औँ स्थानमा, पाकिस्तान १०८ औँ स्थानमा, बंगलादेश ८० औँ स्थानमा र श्रीलंका ६९ औँ स्थानमा छ ।
सबैभन्दा तल उत्तर कोरिया १६७ औँ स्थानमा रहेको पाइएको छ ।
प्रतिक्रिया