९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

आज राष्ट्रिय सभा सदस्यको चुनाव, प्रदेश ५ मा ३ सय ५ मतदाता



मायादेवी अनलाइन, दाङ ।
संसदको माथिल्लो सदन राष्ट्रियसभाका १८ सदस्यका लागि आज मतदान हुंदैछ । एक सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नेछन् । ६ दलले भाग लिने निर्वाचनमा ४५ जना उम्मेदवार छन् । बिहीबार निर्वाचन भए पनि १९ सदस्यको कार्यकाल भने फागुन २० मा सकिने छ। अर्थमन्त्री डा. युवराज खतिवडासहित १९ सदस्यको दुई वर्षे कार्यकाल पूरा हुन लागेको हो ।
निर्वाचन आयोगले मतदानका लागि सबै तयारी पुरा भएको भन्दै ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ । आयोगले सात प्रदेशका उच्च अदालत रहेका सातवटा स्थानमा मतदान स्थल तोकेको छ ।
प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखले मतदान गर्न पाउनेछन् । निर्वाचन आयोगका अनुसार सातवटा प्रदेशका ५ सय ५० जना प्रदेश सदस्य र १ हजार ५ सय ६ स्थानीय तहका पदाधिकारी गरी २ हजार ५६ जना मतदाता छन् । आयोगका अनुसार मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा मतदान स्थल तोकिएका छन् ।
यसैबीच जिल्ला निर्वाचन कार्यालय दाङले प्रदेश नं. ५ मा यही माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा तीन पदका लागि ३ सय ५ जना मतदाता रहेको जानकारी दिएको छ । कार्यालयले घोराहीमा राजनीतिक दल, सञ्चारकर्मी, नागरिक समाजलगायत सरोकारवालासँग निर्वाचनका बारेमा जानकारी दिएको हो ।
जिल्ला निर्वाचन अधिकारी खुमप्रसाद सुवेदीले प्रदेशसभा सदस्य ८७ र स्थानीय तह प्रमुख र उपप्रमुख २ सय १८ गरी ३ सय ५ जना मतदाता रहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार निर्वाचनमा प्रदेशसभा ८७ सदस्यको ४ हजार १ सय ७६ मतभार रहेको छ भने स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय १८ जनाको ३ हजार ९ सय २४ रहेको छ ।
राष्ट्रिय सभाको निर्वाचनका लागि दाङमा दुई मतदान केन्द्र स्थापना गरिएको छ । राष्ट्रिय सभा सदस्यका लागि प्रदेश–५ बाट ९ जना चुनावी प्रतिस्पर्धामा रहनु भएको छ ।

प्रकाशित मिति : ९ माघ २०७६ बिहिबार ००:००  ६ : ०२ बजे