काठमाडौं ।
समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्न आग्रह गरिएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यादवलाई नेकपामा आउन पुनः आग्रह गरेका हुन् ।
प्रचण्ड निवास खुमलटारमा समाजवादीका नेता तथा कार्यकर्तालाई नेकपामा प्रवेश गराउँदै प्रचण्डले भने, ‘धेरै झमेला गर्नुभन्दा उपेन्द्र जी पनि यतै मिल्न आए हुन्छ । अलग अलग चुलाचौका लगाएर यहाँ धेरै हुने वाला छैन ।’
प्रचण्डले बाबुराम र अशोक राईका विषयमा भने,‘अशोक राई, बाबुराम भट्टराई बडो निरीह बनेर बस्नु परेको अवस्था छ भनेर साथीहरूले भन्नुभएको छ ।’
४० जनाभन्दा बढीलाई नेकपामा प्रवेश गराएका प्रचण्डले भने,‘जो जहानेर ब्युँझिन्छ त्यहीं उठेर हिंड्न सुरू गर्छ । अहिले नेकपा प्रवेश गर्ने साथीहरू ब्युँझनु भएको छ, उहाँहरू आउनुभयो । भोलि अरू पनि ब्युँझिनुहुनेछ र आउनुहुनेछ ।’
उपेन्द्र यादव नेकपाभित्र प्रचण्डनिकट मानिन्छन् । यसअघि पनि प्रचण्डले उपेन्द्र यादवलाई नेकपामा आउन आग्रह गर्दै आएका छन् । राष्ट्रिय सभा निर्वाचनमा प्रचण्डले उपेन्द्र यादवसँग गठबन्धन गर्न चाहेका थिए ।
प्रतिक्रिया