काठमाडौं ।
सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (बुधबार) भएको खेलमा राष्ट्रिय टिमका खेलाडीको बाहुल्यता रहेको मछिन्द्र क्लबले संघर्षपूर्ण जित निकालेको छ । उसले विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० को गोल अन्तरले हराएको हो ।
दुवै टिमले स्कोर गर्न नसकेपछि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । प्रतिस्पर्धात्मक खेलको ५३ औं मिनेटमा मछिन्द्रका खेलाडी रन्जित धिमालले फ्री किक मार्फत गोल गर्दै सुरुवाती अग्रता बनाएका थिए । उनले पोलको दायाँ कोणमा गरेको प्रहार गोलमा परिणत भएको थियो ।
यो जितसँगै मछिन्द्रले १६ अंक बनाएको छ । उसले पाँच खेलमा जित, एक खेलमा हार र दुई बराबरी खेल्दै १६ अंक बनाएको हो ।
समान १६ अंक भएको आर्मी शीर्षस्थानमा छ । आर्मी गोल अन्तरका आधारमा शीर्षस्थानमा रहेको हो ।
उत्कृष्ट खेल प्रदर्शन गर्दै मछिन्द्रका रन्जित धिमाल म्यान अफ द म्याच भएका छन ।
खेलपछि मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले सोचेअनुसारको खेल नभए पनि आफू खुसी भएको बताए । ‘सिजनका सबै खेल कठिन छन् । सबै टिम दावेदार छन् । पुलिस पनि सेट नै छ तर पनि हामी स्ट्रङ भएकाले अलि धेरै गोलले जित्नुपर्ने थियो । खेलाडीहरु हतारिएर खेले । सामान्य पास पनि बिगारेका छन्,’ उनले भने ।
पुलिस क्लबका प्रशिक्षक अनन्तराज थापाले राम्रो खेलेको भए पनि गोल खान पुगेको प्रतिक्रिया दिए । ‘डिफेन्स राम्रो बनाएका थियौं । गोलकिपरको गल्तीले गोल खायौं । लामो दूरीबाट आएको बल थियो, किपरले हेर्नुपर्थ्यो,’ उनले भने ।
प्रतिक्रिया