मायादेवी अनलाइन, वाणगंगा ।
भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर १ अन्तरगतका सडकहरुको अवलोकन गर्नुभएको छ । मन्त्री चौधरीले भारतीय सिमाक्षेत्रबाट पूर्वपश्चिम राजमार्ग जोड्ने लखनचोक, लबनी शिवालवा कच्ची सडकको अवलोकन गर्नुभएको हो ।
५ नं. प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले उक्त सडकको टेण्डर सूचना आवहन गरेको भोली पल्टै प्रदेश साँसद विष्णु पन्थीको पहलमा भौतिक पूर्वाधार विकास मन्त्री, सोही क्षेत्रका साँसद सहसराम यादव, संविधान सभा सदस्य बलराम अधिकारी, नेकपाका नेता लगाएतको टोलीले सडकको स्थलगत अवलोकन गरेको हो । साँसद पन्थीले आफनो निर्वाचन क्षेत्र अन्तरगत बाँकी रहेको उक्त सडक खण्ड कालोपत्रे गर्ने योजना अब पुरा हुने बताउनुभयो ।
भारतीय सिमा देखि पूर्वपश्चिम राजमार्ग जोड्ने लखनचोक शिवालवा ३२ किलोमिटर सडक जिल्लाको पुरानो र सवैभन्दा लामो सडक खण्ड पर्दछ । पिपरा लखनचोक देखि पटना, पतरिया, सोसा हुदै लबनी, शिवालवा जोड्ने उक्त सडक हालसम्म पनि स्तरोन्नती नहुदा त्यस क्षेत्रका वासिन्दाले समस्या झेलेका थिए । अवलोकनमा क्रममा पतरिया गाउँमा सडक साघुरो र सडक मिचेरै घर बनाइएकोले बाटो क्लीयर गर्न मन्त्री चौधरीले अनुरोध गर्नुभएको छ ।
पतरिया गाउँका स्थानीयले मन्त्री समक्ष आफुहरुले घर भत्काएर ९ मिटर बाटो छाड्ने प्रतिवद्धता व्यक्त गरेको पूर्व गाविस अध्यक्ष मुजिव खाँले बताउनुभयो । सोही क्रममा शुद्धोधन गाउँपालिका वडा नं.१ का वडाध्यक्ष तिलकराम खरविन्दले सडकका कारण आफनो वडा धेरै पछाडि परेको बताउनुभयो । उहाले आफुले सडक स्तरोन्नतीका लागि आफनो वडाको तर्फबाट सडकक्षेत्रमा निर्माण भएका घर टहराहरु हटाउन समन्वय गर्ने बताउनुभयो ।
प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले २४ करोडको लागतमा उक्त सडक खण्ड निर्माण गर्दैछ । बहुवर्षिय योजना अन्तरगत संघ र प्रदेश सरकारले ३२ किलोमिटर सडक खण्ड कालो पत्रे गर्ने प्रकृया अघि बढाएको हो, मन्त्रालयका प्रवक्ता भिमार्जुन पाण्डेले भन्नुभयो – यसवर्ष ६ करोड बजेट विनियोजन भैसकेको छ । उक्त सडक खण्ड ३ वर्ष भित्र सम्पन्न गर्ने योजना रहेपनि राम्रो ठेकेदारले स्थानीयको सहयोग र कतै अवरोध नआए चाडै नै सम्पन्न गर्नसक्ने पनि बताउनुभयो ।
यसैबीच मन्त्रीलाई शुद्धोधन गाउँपालिकाको हुलाकी सडक अन्तरगत सन्तघाट र मायादेवी गाउँपालिकाको मुंगेहेरीको अवलोकन गराउदै पुल निर्माणको आवश्यकता भएको साँसद सहसराम यादवले बताउनुभयो । अवलोकनका क्रममा प्रदेश साँसदहरु फौजिया खातुन, शुष्मा यादव, मायादेवी गाउपालिका अध्यक्ष बजंरगी प्रसाद कुर्मी, स्थानीय नेता फैजल खाँन, डम्मर शर्मा लगाएतको उपस्थिती रहेको थियो ।
८ माघ २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया