९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

प्रदेश ५ मा सामुदायिक विद्यालयको नतिजा सुधार गर्न ५२ दिने अभियान, गोरुसिंगेमा प्रशिक्षण



मायादेवी अनलाइन, बुद्धभूमि ।
सामाजिक विकास मन्त्रालयले सामुदायिक विद्यालयको नतिजा सुधारको नयाँ अभियान शुरु गरेको छ । सामुदायिक विद्यालयको गणित र विज्ञान विषयको नजिता सारै कमजोर भएपछि ५ नम्बर प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले नयाँ अभियान शुरु गरेको हो । गतवर्ष २०७५ को एसइई परिक्षामा गणित र विज्ञान विषयमा सामुदायिक विद्यालयको नतिजा सारै कमजोर आएपछि नतिजा सुधारका लागि नयाँ अभियान शुरु भएको हो ।
प्रदेश सरकारको बजेटबाट १२ वटै जिल्लामा गणित र विज्ञान विषयको नतिजा सुधारका लागि ५२ दिने विशेष कक्षा संचालन गर्ने अभियान शुरु भएको हो । दैनिक डेढ घण्टाको दरले विद्यालयमै ५२ दिनसम्म गणित र विज्ञान विषयको अतिरिक्त कक्षा संचालन हुनेछ । प्रदेश नं. ५ अन्तरगत १२ जिल्लाका ७ सय ४२ विद्यालयमा विज्ञान र ८ सय ८८ विद्यालयमा गणित विषयको अतिरिक्त कक्षा संचालन हुनेछ । जसको लागि प्रदेश सरकारले ५ करोड बजेट सामुदायिक विद्यालयको नजिता सुधारमा लगानी गरेको छ ।
प्रदेशमा कपिलवस्तुको गतवर्षको एसइईको नतिजामा गणित विषयमा ११ औं स्थान अर्थात २०.७ प्रतिशत रहेको थियो भने १२ औ जिल्लाको रुपमा रोल्पा रहेको थियो । जसको १८.८ प्रतिशत ल्याएर अन्तीम जिल्लाको नतिजाको सूचीको रहेको थियो । सवैभन्दा राम्रो नतिजा गुल्मी जिल्लाले ४० प्रतिशत ल्याएर पहिलो स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ ।
जस अन्तरगत कपिलवस्तुको ७२ विद्यालयमा गणित ६९ विद्यालयमा विज्ञान विषयको कक्षा संचालन हुनेछ । सोही अनुरुप सामाजिक विकास डिभिजन कार्यालय कपिलवस्तुले ७२ स्कुलका १ सय ४१ शिक्षकलाई प्रशिक्षण कार्यक्रम संचालन गरेको छ । गोरुसिंगेमा आयोजित प्रशिक्षण कार्यक्रमको शुभकामना दिदै जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद खनालले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिमा सवै जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बुद्धभूमि नगरपालिकाका शिक्षा शाखा प्रमुख लिल बहादुर रावल, वाणगंगाका शिक्षा शाखा प्रमुख बाबुराम भट्टराई, शिक्षक महासंघ कपिलवस्तुकी अध्यक्ष देवकला सुवेदी, नेपाल पत्रकार महासंघका सचिव हरि अधिकारी लगाएतले सामुदायिक विद्यालयको नतिजा सुधारका लागि प्रदेश सरकारको अभियानलाई सफल बनाउनुपर्ने बताएका थिए ।
प्रशिक्षण कार्यक्रम शिक्षक रमेश पन्थी, टिकाराम पौडेल, लक्ष्मी भण्डारी, शिशिर अर्याल तथा राजेश त्रिपाठीले संचालन गर्नुभएको थियो । प्रशिक्षण कार्यक्रम सामाजिक विकास डिभिजन कपिलवस्तुका प्रमुख नरेन्द्र बेल्वासेको अध्यक्षता तथा प्रशिक्षक रमेश पन्थीको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २९ पुस २०७६ मंगलबार ००:००  १० : ०५ बजे