९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

बुड्ढीको थारु गाउँमा ‘माघी खिचडी महोत्सव’को रौनक



मायादेवी अनलाइन, वाणगंगा ।

तराई क्षेत्रका थारु समुदायको महत्वपूर्ण चाड माघीको अवसर पारेर बुड्ढीमा मङ्गलबारबाट दुई दिने माघी खिचडी महोत्सव सुरु भएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. ४ स्थित रहेको थारु गाउँमा थारु खिचडी महोत्सव सुरु भएको हो ।

महोत्सवको बुद्धभूमिका नगर प्रमुख केशव कुमार श्रेष्ठले उद्घाटन गर्नुभयो । उक्त अवसरमा बोल्दै नगर प्रमुख श्रेष्ठले थारु समुदायको महत्वपूर्ण चाड माघी पर्वले एक आपसमा आपसी समझदारी, भाइचारलाई प्रगाढ पुर्याउनेमा विश्वास व्यक्त गर्नुभयो । हरेक बर्ष वडा नं. ४ ले माघी खिचडी महोत्सव सञ्चालन गरेर संस्कृति संरक्षण गरेको उहाँले बताउनुभयो । थारु समुदाय कला, संस्कृतिमा अत्यन्तै धनि रहेको उल्लेख गर्दै यसको पहिचान सधै स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।

दुई दिनसम्म चल्ने महोत्सवमा थारु जातिका विभिन्न गीत, नृत्य, समुदायद्धारा निर्मित सामग्रीको प्रर्दशनीसंगै विभिन्न परिकारको स्वाद चाख्न पाइने वडा अध्यक्ष पवनकुमार थारुले बताउनुभयो । वडा नं. ४ थारु बाहुल्यता भएको वडा भएको भन्दै हरेक बर्ष माघीको अवसरमा खिचडी महोत्सव सञ्चालन गर्दै आएको वडाध्यक्ष थारुले जानकारी दिनुभयो ।

दुई दिनसम्म सञ्चालन हुने खिचडी महोत्सवमा दर्जनौं थारु जातिका नृत्य प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । यस्तै पछिल्लो समय लोप हुने अवस्थामा पुगेका लाठि, मयुँर, झुमरा नाच महोत्सवको देखाउने आयोजकको लक्ष्य रहेको छ । महोत्सवमा थारु समुदायका महत्वपूर्ण परिकार ढकरी, घोगी र माछाका विभिन्न परिकार पाइने आयोजकले जनाएको छ । वडा नं. ४ को कार्यालयसंगै विभिन्न व्यापार व्यवसायको सहयोग उठाएर कार्यक्रम आयोजना गरिएको हो ।

प्रकाशित मिति : २९ पुस २०७६ मंगलबार ००:००  ६ : ५५ बजे