९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

पश्चिमी वायुको प्रभावले पश्चिममा वर्षा र हिमपात



काठमाडौं ।
पश्चिमी न्यून चापीय वायुको प्रभावले देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबार अपरान्हबाट नेपालको पश्चिमी भू–भागमा प्रवेश गरेको उक्त प्रणालीको प्रभावले देशको पश्चिमी भू–भागका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात र वर्षा हुने मौसमविद् प्रतिभा मानन्धरले बताए । ‘सो नयाँ प्रणालीको प्रभाव पश्चिमी क्षेत्रमा आज बेलुकासम्म कायम रहने छ’, मौसमविद् मानन्धरले भने । भोलिबाट मौसम क्रमिक सुधार हुँदै जाने बताइएको छ ।
हाल पश्चिमी क्षेत्रमा सामान्य बदलीसँगै सुदूरपश्चिमका उच्च पहाडी भू–भागका धेरैजसो स्थानमा हल्का वर्र्षा र हिमपात भइरहेको जनाएको छ । राति देशका पश्चिमी भू–भागमा एक–दुई स्थानमा हल्का वर्षाका साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको ।
भोलि देशकको पहाडी भू–भागमा आंशिक बदली भई अन्य भेगमा मौसम सामान्यतया सफा रहने बताइएको छ । बिहीबार देशको पश्चिमी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री र अधिकमत तापक्रम १९ दशमलव ७ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज दाङ, दिपालय र नेपालगञ्जको न्यूनतम तापक्रम माइनसमा झरेको छ । (रासस)

प्रकाशित मिति : २९ पुस २०७६ मंगलबार ००:००  ६ : ५१ बजे