९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

ऊर्जामन्त्री पुन र ओमानका सुल्तान हाइतमबीच भेट



ओमान ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले ओमानका सुल्तान काबुस विन तारिक विन ताइमुर विन अल सइदको निधनप्रति नेपालका तर्फबाट ओमानको सरकार तथा त्यहाँका जनताप्रति समवेदना प्रकट गरेको छन्। अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा संघ (आइरिना) को १० औं साधारणसभामा सहभागी हुन युएइको अबुधाबी पुगेका मन्त्री पुन त्यहींबाट ओमानको राजधानी मस्कट पुगेर समवेदना प्रकट गरेका हुन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट नवनियुक्त सुल्तान मौसुफ हाइतम विन तारिक विन ताइमुर अल सइदलाई भेटेर समवेदना प्रकट गरेका हुन्। मन्त्री पुनले राष्ट्रपति भण्डारीले पठाएका लिखित समवेदनापत्र सुल्तान हाइतमलाई हस्तान्तरण गरे। त्यस अवसरमा उनले ओमानको शान्ति, समृद्धि तथा निरन्तर प्रगतिको कामना व्यक्त गर्नुका साथै नेपाल र ओमानबीच ४३ वर्षदेखि कायम रहँदै आएको मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध आगामी दिनमा अझ प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे । सुल्तान हाइतमले नेपालका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री पुनका साथै सम्पूर्ण नेपाली जनताका तर्फबाट समवेदना व्यक्त भएकाप्रति धन्यवाद ज्ञापन गरे। त्यसका साथै सुल्तान हाइतमले नेपाल र ओमानबीच कायम रहेको मैत्रीपूर्ण सम्बन्धको प्रशंसा गर्दै आगामी दिनमा समेत सो सम्बन्ध थप प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे। समवेदान प्रकट गर्ने सिलसिलामा ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाललगायतका सहभागी थिए।

प्रकाशित मिति : २९ पुस २०७६ मंगलबार ००:००  २ : ३१ बजे