९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

आजदेखि फेरि हिउँदे झरी



काठमाडौं ।
भू–मध्य सागरको वायुको प्रभाव सक्रिय भएपछि हिउँदे झरीको असर फेरि दोहोरिने भएको छ । सो सागर हुँदै दक्षिण एसियाली मुलुकतर्फ वहने जलवाष्पयुक्त हावाको मात्रा पर्याप्त भएपछि हिउँदे झरी दोहोरिने भएको हो ।
आज सोमबारदेखि मध्य र सुदूरपश्चिमका उच्च पहाडी र हिमाली भेगमा देखिने यस्तो असर आगामी बिहीबार र शुक्रबार मुलुकका अधिकांश क्षेत्रमा फैलिँदै छ ।
‘गत वर्षको तुलनामा पश्चिमी वायु केही बढी सक्रिय भएकाले हिउँदे वर्षा भइरहेको छ, एउटा सानो प्रणाली भोलि भित्रिँदै छ, बिहीबार भने लगभग देशैभरको मौसम प्रभावित हुने गतिविधि विकास भइरहेको छ ।’ –आइतबार साँझ मौसमविद् वरुण पौडेलले भन्नुभयो ।
हिउँद यामको मौसम प्रभावित गराउने भू–मध्य सागरको वायु इरान, अफगानिस्तान, पाकिस्तान, उत्तरपश्चिम भारत हुँदै नेपालको पश्चिमी भेगबाट भित्रिने गर्छ । पृथ्वीको सतहबाट वायुमण्डलको पाँच किमिभन्दा माथिको हाराहारी हुँदै वहने भूमध्य सागर र अरब सागरको वायुको दोहोरो मिश्रणले नेपालसहित दक्षिण एसियाली मुलुकको हिउँदे मौसम प्रभावित बन्ने गर्छ ।
मध्यभारतमा विकसित हुने न्यून चापीय क्षेत्र (हावाको कम चाप हुने क्षेत्र) पाकिस्तानबाट उत्तरपूर्वी दिशा हुँदै वहेमा नेपालतर्फ असर देखिँदैन । मध्यभारतमै विकसित हुने न्यून चापीय क्षेत्रमा जलवाष्पयुक्त हावा मिसिएपछि नेपाल, भारत र आसपासका मुलुकको मौसम प्रभावित बन्ने गर्छ ।
यस्तो गतिविधि दोहोरिरहेकाले हरेक साता हिउँदे झरीको असर देखिन थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । ‘भू–मध्य सागरको वायु र अरब सागरको वायुको मिश्रण भयो भने हिउँदे वर्षा झनै सशक्त बन्ने गर्छ ।’ –उहाँले भन्नुभयो ।
मौसमविद्हरू अंग्रेजी महिनाको डिसेम्बर, जनवरी र फेब्रुअरी महिनालाई मध्य हिउँदे अवधि बुझ्ने गर्छन् । यसपटक डिसेम्बर महिनामा मुलुकका अधिकांश भेगमा हिउँदे वर्षाले औसत मात्रा नाघिसकेको र वर्षाका कारणले तराई र अन्यत्र हुस्सुको प्रभाव देखिने थालेको महाशाखाले जनाएको छ ।
डिसेम्बरमा काठमाडौं उपत्यकामा हिउँदे झरीको औसत मात्रा १३ मिलिमिटर तोकिएकोमा यसपटक सो मात्रा नाघेर ३७ मिलिमिटर पुगेको मौसमविद् पौडेलले जानकारी दिनुभयो ।
‘डिसेम्बरमा उपत्यकामा हिउँदे वर्षाको मात्रा दोब्बरभन्दा निकै माथि पुग्यो । जनवरीको औसत वर्षा १४ दशमलव ४ मिलिमिटर हो । अहिलेसम्म ९ दशमलव २ मिलिमिटर पुगिसक्यो, यसपटक यो मात्रा सजिलै नाघ्ने संकेत देखिन्छ ।’ –उहाँले भन्नुभयो ।

प्रकाशित मिति : २८ पुस २०७६ सोमबार ००:००  ७ : १० बजे