९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

उद्योगी, व्यवसायी तथा सरोकारवाला बीच मोतिपुरमा अन्तरक्रिया



बाबुराम रायमाझी, जितपुर ।
कपिलवस्तुको वाणगंगा-७ मोतिपुरको वडा कार्यालयमा उद्योगी, व्यवसायी, उपभोक्ता र सरोकारवाला संघसंस्थाहरुका बीच १ दिवसिय अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख राजन के.सी.ले जिल्लाका १० स्थानीय तह मध्ये वाणगंगाको वडा नं. ७ बाट कार्यक्रमको बारेमा सचेतना गरिएको र यसले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमको सहजिकरण गर्दै कार्यालय प्रमुख केसीले उद्योगको प्रकार, दर्ताको प्रक्रिया र ५ करोड पूँजी भएको उद्योग साना उद्योग कार्यालयमा दर्ता हुने प्रक्रियाको बारेमा जानकारी गराउनुभएको थियो । साना उद्योग दर्ता गर्नका लागि कानुनी झन्झट खेप्नुपरिरहेको बेला आइतबार गरिएको अन्तरक्रियाले केही सहजता ल्याउने विश्वास लिइएको छ ।
ईलाका प्रशासन कार्यालय वागगंगाका शाखा अधिकृत विष्णु प्रसाद ज्ञवालीले बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालयको भूमिका विषयमा प्रकाश पार्दै अनुगमन नियमित तथा आकस्मिक हुने भन्दै व्यवसायीहरुले व्यवसायिक आचारणको ख्याल गर्नुपर्नेमा जोड दिनुभयो ।
सेवाग्राहीले देख्ने ठाउँमा मूल्य सूची राख्नुपर्ने, इजाजत दर्ता प्रमाण पत्र लिनुपर्ने, खरीद तथा बिक्री बिलहरु हुनुपर्ने, खाद्य र अखाद्य बस्तुहरुको भण्डारण गर्नुपर्ने, मिति सकिएका बस्तुको बिक्री वितरण गर्न नहुने र व्यवसायिले आचारण उलङ्गन गर्दा हुने कानुनी कारबाहीको बारेमा ज्ञवालीले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष विष्णु गिरीले वडाबासीलाई सरकारको ऐन, नियम र परिधिमा रहेर व्यापार, व्यवासायी गर्न आग्रह गर्नुभयो । आजको अन्तरक्रियाले धेरै कुरा सिकाएको भन्दै यस्ता कार्यक्रम बेला बेला आयोजना गर्नुपर्नेमा वडाध्यक्ष गिरीले जोड दिनुभयो ।
अन्तरक्रियामा समाजसेवी नेत्रज्याति गिरी, कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल लगायतले बोल्नुभएको थियो । “सहज आपूर्तिको मूल आधार जागरुक उपभोक्ता र प्रतिस्पर्धी बजार” भन्ने मूल नाराका साथ चलाइएको अन्तरक्रिया कार्यक्रम निकै फलदायी भएको वडाबासीले बताएका थिए ।

प्रकाशित मिति : २७ पुस २०७६ आइतबार ००:००  ६ : ४८ बजे