९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

प्रदेश ३ को स्थायी राजधानी हेटौंडा घोषित



हेटौंडा ।
सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभामा हेटौंडालाई राजधानी बनाउने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि भएको मत परिणाम सार्वजनिक गरिएको छ ।
सार्वजनिक गरिएको मतपरिणाम अनुसार १ सय ५ मतले हेटौंडा राजधानी घोषित भएको छ । दुई तिहाईले राजधानी घोषित हुन ७४ मत आवश्यक थियो । त्यो भन्दा ज्यादा मतले हेटौंडा प्रदेशको स्थायी राजधानी घोषणा भएको हो ।
यसअघि मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडालाई राजधानी प्रस्ताव पारित गरियोस भनी सभामा पेश गरेका थिए । सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्रीबाट पेश भएको हेटौंडा राजधानी बनाउने प्रस्तावलाई सभामा निर्णयार्थ पेश गरेका थिए ।
त्यसपछि मत विभाजनको घोषणा गरिएको थियो । मतदानको परिणाम अनुसार अत्याधिक मतले हेटौंडा प्रदेशको राजधानी कायम भएको हो । मतदानमा १ सय ८ सांसद उपस्थित थिए ।
यसअघि काभ्रेको धुलिखेललाई राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा निर्णयार्थ पेश भएको थियो । विवेकशील नेपाली दल र साझा पार्टीले संयुक्त रुपमा धुलिखेललाई राजधानी प्रस्ताव गरेका थिए ।
प्रस्तावहरुले प्रस्ताव फिर्ता लिन नमानेपछि काभ्रेको धुलिखेललाई राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा निर्णयार्थ प्रस्तुत भएको थियो ।
त्यसपछि भएको मत विभाजनमा काभ्रेको धुलिखेलको पक्षमा ३ मत मात्रै आएको हो । यसको विपक्षमा १ सय १ जनाले मतदान गरेका थिए ।

प्रकाशित मिति : २७ पुस २०७६ आइतबार ००:००  ११ : ५२ बजे