९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

तराईमा घाम देखिन छाड्यो, बढ्दो शीतलहरका कारण जनजीवन प्रभावित



कपिलवस्तु ।
बढ्दो शीतलहरका कारण कपिलवस्तुसंगै ५ नं. प्रदेशका तराईको जनजीवन प्रभावित बनेको छ । पुस लागे देखि तराई क्षेत्रमा घट्दै गएको तापक्रमले आम सर्वसाधारणहरुको दैनिकी कष्टकर बन्दै गएको छ । अधिक चिसोका कारण सर्वसाधारणहरुको सरकारी कार्यालय, सार्वजनिक स्थल र बजारहरुमा उपस्थिति निकै न्यून छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गत कपिलवस्तु नगरपालिका ३, रामनगरमा रहेको तापक्रम मापन केन्द्रका अनुसार शनिबारको तापक्रम न्यूनतम ८ र अधिकतम तापक्रम १२ डिग्री सेन्टिग्रेड रहेको छ । चिसोबाट बच्न सर्वसाधारणहरु घरबाट बाहिर अति आवश्यक काम भए मात्र निस्कने गरेका छन् । विभिन्न चोक र गल्लीहरुमा समूहगत रुपमा सर्वसाधारणहरु चिसो छल्न दिनभर आगो ताप्दै बसेका भेटिन्छन् ।
कपिलवस्तु नगरपालिका १, २ र ३ लगायतका वडाहरुले विपन्न सर्वसाधारणलाई न्यानो कपडा, कम्मल लगायतका सामाग्रीहरु पनि वितरण गरेका छन् । यसै गरी जिल्लाका १० वटै स्थानीय तहले आआफ्ना क्षेत्रका विपन्न सर्वसाधारणलाई न्यानो कपडा र कम्मल वितरण गरेका छन् ।
चिसो बढेसँगै जिल्ला अस्पताल तथा अन्य स्वास्थ्य संस्थाहमा बिरामीहरुको संख्या पनि बढेको छ । चिसोले बच्चाहरुमा निमोनियाको संक्रमण बढेको तथा बुढाबुढीहरुलाई दम रोगले सताएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. किशोर बन्जाडेले बताउनुभयो ।
यसैगरी पछिल्लो समय चिसो बढेसँगै अस्पतालमा पेट झरेको, पेट दुखेको, सुगर बढेको, ब्लड प्रेशर बढेको, हाड जोर्नी दुखेको समस्या भएका बिरामीहरुको संख्या बढेको बताउँदै डा.बन्जाडेले भन्नुभयो, ‘चिसोमा अझ हृदयाघात हुने खतरा पनि रहन्छ । हामीकहाँ ३÷४ जना हृदयाघात भएका बिरामीहरु पनि आएका छन् ।’
सर्वसाधारणहरुलाई चिसोबाट बच्न आगो ताप्नका लागि जिल्लाका तिलौराकोट साझेदारी वन, मायादेवी साझेदारी वन, कपिलवस्तु साझेदारी वन र सामुदायिक वनहरुले निस्शुल्क रुपमा ताप्ने दाउरा वितरण गरेका छन् ।

प्रकाशित मिति : २६ पुस २०७६ शनिबार ००:००  ६ : ५६ बजे