९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

सहकारीबाट मुलुकलाई आत्मनिर्भर बनाउनु पर्छः मेयर थारु



मायादेवी अनलाइन, वाणगंगा ।
हिमाली बचत तथा क्रण सहकारी संस्था लिमिटेड बाणगंगा ५ कोपवाको १२ औँ साधारण सभा तथा पाचौं अधिवेशनमा सहकारी शुद्धतामा जोड दिइएको छ । शनिबार भएको कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारीहरु ग्रामिण बैङ्क भएकाले यसले दिने सेवामा शुद्धता कायम गर्नुपर्नेमा जोड दिइएको हो ।
प्रमुख अतिथि बाणगंगा नगरपालिकाका प्रमुख मंगल प्रसाद थारुले सहकारीहरु निष्पक्ष र पारदर्शी हुनुपर्ने बताउनु भयो । मुलुकले ‘सुखी नेपाली समृद्ध नेपाल’ नारालाई सफल बनाउन हरेक सहकारीले भूमिका खेल्नु पर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो–“हामीले प्याजको मुल्य महंगो भयो भनिरहेका छौँ । यसमा जिम्मेवार को ? हामीले प्याज किन उत्पादन गर्न सकेनौँ ? हरेक सहकारीकर्मीहरुलाई आग्रह गर्दछु, उत्पादनमुलक कार्यमा लाग्नुहोस् ।”
उहाँले अब आत्मनिर्भरतामा सहकारीहरु स्वमय कस्सिनु पर्ने बताउँदै सही नेतृत्व छान्न सदस्यहरु सक्रिय बन्नु पर्ने बताउनु भयो । उहाँले बाणगंगाको आगामी नगरसभामा सहकारी ऐन पारित गर्न लागेको जानकारी पनि गराउनु भएको छ । नगरको माघ २४ गते हुने छैठौ नगरसभामा नयाँ सहकारी नीति आउने बताउनुभयो ।
विशिष्ट अतिथि जिल्ला समन्वय समितिका उपसभापति तारावती चौधरीले सहकारीले पार्दशितामा जोड दिनु पर्ने बताउनु भयो । उहाँले अब हरेक नेतृत्वमा नारीहरु पुग्नु पर्ने बताउँदै हिमालीको नेतृत्वमा महिला पुग्नु पर्ने आवश्यकता औल्याउनुभयो ।
सहकारी संघ प्रदेश नं. ५ का सदस्य तथा जिल्ला उपाध्यक्ष तेज प्रसाद आचार्यले सहकारीहरुमा आएका नयाँ नीतिगत कुराहरुको बारेमा जानकारी गराउनु भएको थियो । अब सहकारी मर्जरको प्रकृयामा जाने गरी नीति बन्न लागेको बताउँदै सहकारीले उत्पादनमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । नेतृत्व भन्दा पनि सदस्यहरुले ध्यान दिदा सहकारी बलियो हुने भन्दै उहाँले सही नेतृत्व चयन गर्न सदस्यहरु चनाखो बन्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा सहकारीका अध्यक्ष दुनिका प्रसाद भुसालले बार्षिक प्रतिवेदन पेश गर्दै सहकारीका आगामी योजनाहरुको बारेमा बताउनु भएको थियो । सहकारीका सचिव भरतराज न्यौपानेले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पनि गर्नुभएको थियो ।


कार्यक्रममा सहकारीमा बिभिन्न योगदान दिएका ब्यक्ति, उत्कृष्ट ऋणी, निवृत्त राष्ट्रसेवक शिक्षक कर्मचारी (१३ जना), उत्कृष्ट जोडी बचत, असल बचत कर्ता, उत्कृष्ट बाल बचत, नियमित दैनिक बचतकर्ता लगायतलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो । सहकारीमा १३ सय बढी सेयर सदस्यहरु रहेका छन् ।

 

प्रकाशित मिति : २६ पुस २०७६ शनिबार ००:००  ६ : ५१ बजे