मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुका सबै मगरहरु एक जुट भएर माघेसकराती पर्व हर्षौउल्लासका साथ मनाएका छन । जिल्लाको वाणगंगा १ बैरियामा जिल्लाभित्र छरिएर बसेका मगर समुदाय एक जुट भएर शनिबार मगर समुदायको प्रमुख राष्ट्रिय सांस्कृतिक पर्व मगर–माघे सकराती मनाएका हुन ।
विगत ३ बर्ष देखि कपिलवस्तुका मगर समुदायले माघेसकराती पर्व मनाउँदै आएका छन । गत बर्षहरुमा माघ १ गतेका दिन माघेसकराती पर्व मनाउने गरे पनि यस बर्ष जिल्लाका मगर समुदायले शनिबार नै मनाएका हुन । माघेसकरातीका दिन घर–घरमै व्यस्त हुनुपर्ने भएकोले कार्यक्रम त्यति प्रभावकारी नभए पछि त्यस अगावै कार्यक्रम गरिएको हो ।
अर्घाखाँची, पाल्पा, गुल्मी, प्युठान, रोल्पाबाट बसाई सराई गरी कपिलवस्तु झरेका मगर समुदाय नेपाल मगर संघमा आवद्ध भएर आफ्ना विभिन्न चाडपर्व मनाउँदै आएका छन । नेपाल मगर संघ कपिलवस्तुको आयोजनामा शनिबार भएको कार्यक्रममा विभिन्न जातिय सांस्कृतीक झल्किने नृत्य प्रस्तुत गरिएको थियो । मगर समुदायले आफ्नै भाषामा गीत गाउँदै आ-आफ्नो नृत्य प्रस्तुत गरेर दर्शकलाई झुमाएका थिए । कार्यक्रममा विभिन्न मगर परिकार पनि राखिएको थियो ।
संघका जिल्ला अध्यक्ष मोहन सिंजाली मगरको अध्यक्षता, मिना रानाको सञ्चालन रहेकोे कार्यक्रममा प्रदेश सांसद विर बहादुर राना, नेपाल आदीबासी जनजाती महासंघका प्रदेश अध्यक्ष विमल सारु मगर, थारु कल्याणकारिणी सभाका केन्द्रिय सदस्य जञ्जिर प्रसाद चौधरी, वडा नं. १ की वडाध्यक्ष बालकुमारी पन्त, नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलक बहादुर पछाई, मायादेवी मिडिया ग्रुप प्रालिका अध्यक्ष हरि अधिकारी लगायतको उपस्थिती रहेको थियो ।
माघेसकराती पर्व मगर समुदायको महान सांस्कृतिक चाड हो । नेपालको पाल्पा, प्युठान, अर्घाखाँची र रोल्पामा यो समुदायको बाक्दो उपस्थिती रहेको पाइन्छ । पछिल्लो समय बसाईसराईको दर बढेसंगै तराईका जिल्लाहरुमा पनि मगर समुदायको बसोबास रहदै आएको छ । माघे सकराती पर्व थारु समुदायको पनि प्रमुख सांस्कृतिक चाड हो । थारु बाहुल्यता रहेको कपिलवस्तुमा माघी पर्व नजिकिएसंगै चहलपहल बढेको छ । विशेष गरी हिन्दु समुदायका विभिन्न जातजातीले यो पर्वलाई आ–आफ्नो हिसाबले मनाउने गरेका छन ।
प्रतिक्रिया