मायादेवी अनलाइन, वाणगंगा ।
नेपाली कांग्रेस पाल्पाका सभापति तथा प्रदेश सांसद बिर बहादुर रानाले पछिल्लो समय जात र धर्मका नाममा अतिवाद हावी हुन थालेको बताउनुभएको छ । जातिय र धार्मिक नाममा गरिने कुनै पनि अतिवादले कसैको भलो नगर्ने भन्दै यसमा सबै सचेत बन्नुपर्नेमा रानाले जोड दिनुभयो ।
माघेसकराती पर्वको अवसरमा नेपाल मगर संघ कपिलवस्तुले शनिबार वाणगंगा १ बैरियामा राखेको शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सांसद रानाले सबै जाती मिलेर समाजमा रहेका विकृती, विसंगतिलाई परास्त पार्नुपर्ने बताउनुभयो ।
जातिय पहिचानका नाममा गलत क्रियाकलाप गर्न नहुने भन्दै संकृती संरक्षणमा सद्भाव देखिनुपर्ने बताउनुभयो । आफु मगरको छोरो भएर पनि प्रदेश सांसद र सामाजिक अभियानमा लागेको भन्दै सबैलाई कर्ममा विश्वास गर्न उहाँले आग्रह गर्नुभयो । “म मगर समुदाय कै छोरो हुँ अहिले प्रदेश सांसद बनेको छु, सामाजिक अभियानमा लागेको छु, उहाँले भन्नुभयो, सबैले कर्ममा विश्वास गरौं अवश्य सफल हुन सकिन्छ ।”
विगतमा घर घर बसेर माघे सकराती मनाउने गरिएको भएपनि पछिल्लो समय सबै एक भएर मनाउन थालिएको भन्दै यसले आपसि समझदारी प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो । मगर समुदायले मनाउने माघे सकरातीको कार्यक्रममा गैरमगरहरुको पनि सहभागीता हुनु राम्रो कुरा भएको बताउनुभयो ।
२६ पुस २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया