९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

रेडियो मायादेवीमा विहान ५ बजेदेखि श्रीस्वस्थानी कथा सुन्न सकिने



मायादेवी अनलाइन, वाणगंगा ।
हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना शुक्रबारबाट शुरु भएको छ ।
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उनको कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ४ जितपुरमा मुख्य स्टेशन रहेको सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जले पनि श्रीस्वस्थानी ब्रतकथाको कथाबाचन सुरु गर्नेभएकोे छ । अबदेखि हरेक दिन विहान ५ बजेदेखि साढे ५ बजेसम्म दैनिक रुपमा स्वस्थानी व्रत कथा बाचन गरिने रेडियोका स्टेशन म्यानेजर चन्द्रकान्त न्यौपानेले बताउनुभयो । कार्यक्रम शनिबार (भोलि) विहान देखि दैनिक रुपमा सुन्न सकिने छ ।
यस क्षेत्रका श्रोताको माग र आवश्यकतालाई मध्यनजर गर्दै रेडियोले कथा वाचन सुरु गरेको न्यौपानेले बताउनुभयो । श्रीस्वस्थानी कथा रेडियोसंगै मायादेवी अनलाइन डट कम र मायादेवी अनलाइनको फेसबुक पेजबाट पनि संसारभर एकै साथ सुन्न सकिने रेडियोले जनाएको छ ।

प्रकाशित मिति : २५ पुस २०७६ शुक्रबार ००:००  १० : २५ बजे