मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुमा पहिलोपटक ‘एसईई’ आइडल सिजन वान हुने भएको छ । बाणगंगा–४ जितपुरमा रहेको माउण्ट एभरेष्ट एजुकेशनल जोन, मेज कन्सल्टेन्सी प्राइभेट लिमिटेडको आयोजनामा यही पुष र माघ महिनामा आइडलको हुने भएको हो । आउँदै गरेको २०७६ सालको माध्यमिक शिक्षा परीक्षालाई सघाउने गरी एसईई आइडलको आयोजना गरिएको प्रालिका अध्यक्ष माधव बञ्जाडेले बताउनु भयो । झट्ट सुन्दा कुनै गायन र नृत्य प्रतियोगीता जस्तो लागे पनि यो त्यस्तो प्रतियोगीता नभएर नितान्त शैक्षिक प्रतिस्पर्धा भएको बञ्जाडेको भनाई छ ।
यसमा आउँदै गरेको एसईईमा सम्मिलित हुने परीक्षार्थीले मात्र भाग लिन पाउने उहाँले बताउनु भयो । उहाँका अनुसार एसइइमा सोधिने प्रश्नहरुकै ढाँचामा वस्तुगत र विषयगत परीक्षा हुने छ । दुई चरणमा समापन हुने आइडलमा पहिलो चरणमा वस्तुगत र दोश्रो चरणमा विषयगत परीक्षा हुने पनि उहाँले बताउनु भयो । पहिलो चरणमा विज्ञान, गणित, अंग्रेजी, सामाजिक र समसामयिक विषयका वस्तुगत परीक्षा हुने छ भने त्यहाँबाट छनौट भएकाहरु दोश्रो चरणमा प्रवेश गर्ने छन् ।
दोश्रो चरणको परीक्षाबाटै आइडल घोषणा हुने छ । कार्यक्रम संयोजक चन्द्रकान्त न्यौपानेले पहिलो चरणको परीक्षा पुष २८ गते र फाइनल चरणको परीक्षा माघ ३ र ४ गते बाल मावि वैरियामा हुने बताउनुभयो । आइडलको विजेताले कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्तिसंगै नगद ७ हजार, शिल्ड मेडल र प्रमाण पत्र पाउने छ भने दोश्रो हुनेले कक्षा ११ मा पूर्ण छात्रवृत्ति पाउने छ ।
यस्तै तेश्रो र चौथो हुनेले पनि आंशिक छात्रवृत्तिसंगै अन्य पुरस्कार पनि पाउने न्यौपानेले बताउनु भयो । आइडलको घोषणा माघ १६ गते सरस्वति पुजाको दिन मायादेवी रिसोर्टमा हुने छ । माउण्ट एभरेष्टले विगत लामो समयदेखि लोक सेवा, शिक्षक सेवा, ब्रिज कोर्ष, प्रवेश परीक्षाको तयारी तथा बिभिन्न भाषाका कक्षाहरु संचालन गर्दै आइरहेको छ ।
२५ पुस २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया