९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मुलुकमा परनिर्भरता हटाउन सहकारीको भूमिका महत्वपूर्णः विष्णु पन्थी



मायादेवी अनलाइन, वाणगंगा ।
प्रदेश ५ का सांसद विष्णु पन्थीले मुलुकमा परनिर्भरता हटाउनका लागि सहकारीको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । कृषिसंग सम्बन्धित साना–साना बस्तु पनि आयात गर्नुपर्ने बाध्यता रहेको भन्दै सांसद पन्थीले यसको अन्त्यको लागि सहकारीले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
विहानी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड कोपवाको शुक्रबार ५ औं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले यस्तो कुरा बताउनुभएको हो । देशको कूल बजेट र व्यापार घाटा उस्तै अवस्थामा रहेको चिन्ता व्यक्त गर्दै उहाँले परिनिर्भरता हटाउन जोड दिनुभयो । त्यसको लागि प्रदेश सरकारले विभिन्न कार्यक्रम ल्याएको जिकिर गर्नुभयो ।
सहकारीको माध्यमबाट गाउँ गाउँमा स्वरोजगार सिर्जना गर्न सकिने भन्दै उहाँले स्थानीय, प्रदेश र संघीय सरकारले सहयोग पु¥याउनुपर्ने बताउनुभयो ।
प्रदेशको भूमि, कृषि तथा सहकारी मन्त्रालयले साना साना कृषकलाई सहयोगमा कार्यक्रम ल्याएको जानकारी दिनुभयो । गत बर्ष मन्त्रालयबाट थुप्रै सहकारीले अनुदान प्राप्त गरेको भन्दै यसको भरपुग उपयोग गर्न उहाँले आग्रह गर्नुभयो ।
सहकारीकी अध्यक्ष तुल्सी थापाको अध्यक्षता, नर्मदा चुदालीको सञ्चालनमा भएको कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष भिष्मराज भुसाल, माउण्ट एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष युवराज पोख्रेल लगायतले बोल्नुभएको थियो ।
आव ०७१÷०७२ सालमा खुलेको यस सहकारी वाणगंगाको नमुना सहकारीमा पर्दछ । महिलाहरु संलग्न रहेको यस सहकारीले वडा नं. ५ र ६ मा विभिन्न आयमूलक काममा लगानी गर्दै आएको छ । कार्यक्रममा सहकारीबाट ऋण लगेर नमुना काम गर्ने महिला उद्यमीलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २५ पुस २०७६ शुक्रबार ००:००  ७ : ११ बजे