मकवानपुर ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रदेश ३ को संसदीय दलको बैठकले प्रदेशको राजधानी हेटौँडा नै कायम गर्ने प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको छ ।
प्रदेश राजधानीका विषयमा संसदमा प्रस्ताव दर्ता गराउँदा अन्य पाँच जिल्लाको नाम पनि समावेश गर्नुपर्ने भन्दै सांसदहरुबीच विवाद भए पनि शुक्रबार बसेको दलको बैठकले अब हेटौँडाको मात्रै नाम प्रस्ताव गर्ने निर्णय गरेको हो ।
राजधानीकै विषयलाई लिएर पाँच दिनसम्म सत्तारुढ दलकै सांसदहरु विभाजित हुँदा संसद बैठकमा प्रस्ताव पेश गर्न सकिएको थिएन ।
शुक्रबार दिउँसो ३ बजेका लागि तय भएको संसद बैठकमा प्रदेशको राजधानी हेटौँडा राख्ने पक्षमा मात्रै प्रस्ताव दर्ता गर्न लागिएको सत्तारुढ नेकपाका प्रदेश(३ का प्रमुख सचेतक रामेश्वर फुयाँलले जानकारी दिनुभयो ।
प्रदेशको नाम वाग्मती राख्ने विषय भने सर्वसम्मतले बैठकले निर्णय गरेर प्रस्ताव दर्ता गर्न लागिएको उहाँले जानकारी दिनुभयो । केही सांसदहरुले भने प्रदेश राजधानीमा अरु जिल्लाको पनि नाम दर्ता गराउने भनेका छन् ।
प्रदेश(३ को सत्तारुढ दल नेकपा संसदीय दलको बैठकले राजधानी र नामाकरणका विषयमा निर्णय गरेसँगै अब संसदमा राजधानी र नामाकरणको प्रकृया अघि बढ्न सहज हुने देखिएको छ ।
नेकपा सचिवालयले प्रदेश ३ को राजधानी हेटौँडा र नाम वाग्मती राख्न संसदीय दल र प्रदेश कमिटीलाई निर्देशन दिएको थियो ।
सचिवालयको निर्देशनपछि मुख्यमन्त्री डोरमणि पौडेलको सक्रियतामा शुक्रबार प्रदेश ३ को संसदीय दलको बैठक पाँचौ पटक बसेको हो । पार्टी निर्देशन अनुसार राजधानी र नाममा सहमति जुटाउन संसदीय दलको बैठकमा लगातार छलफल चलेको थियो ।
केही सांसदहरुले केन्द्रले संवैधानिक प्रावधान अनुरुप हस्तक्षेप गरेर निर्देशन दिएको भन्दै त्यसको विरोध गरेका थिए । तर केही सांसदहरुले भने केन्द्रको निर्देशन नमान्ने भए दलमा बसिरहनु उपयुक्त नहुने भन्दै त्यागेर जान चुनौती दिएका थिए ।
प्रतिक्रिया