८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

बाबुछोराकै मिर्गौला फेल



झापा ।
झापाको मेचीनगर–१ मा दलित समुदायका बाबुछोरा नै मिर्गौला फेल भएर डाइलासिस गराइरहेका छन्। घरमै परम्परागत आरन चलाउने ६३ वर्षीय पूर्णबहादुर विक र उनका जेठा छोरा ३८ वर्षीय दलबहादुरको दुवै मिर्गौला फेल भएको नोबेल मेडिकल हस्पिटल विराटनगरले पुष्टि गरेको छ।
हाल बाबुछोरा नै विराटनगरमा डेरामा बसेर सातामा दुई पटक डाइलासिस उपचार गराइरहेका छन्। चिकित्सकले दुवै जनाको मिर्गौला प्रत्यारोपण गरिनुपर्ने सल्लाह दिएको पूर्णबहादुरका माहिला छोरा कमलले बताए।
पूर्णबहादुरलाई पाँच वर्षअघि मिर्गौलामा समस्या देखापरेको थियो भने वैदेशिक रोजगारीबाट फर्केका दलबहादुरको दुवै मिर्गौला फेल भएको ६ महिना अघि मात्र थाहा भएको थियो।

मेचीनगर नगरपालिकाका कार्यपालिका सदस्य टीकाराम मग्रातीले आर्थिक अवस्था दयनीय भएको हुँदा बाबुछोराकै उपचारका लागि सहयोग समिति बनाएर अर्थिक सङ्कलन सुरु गरिएको जानकारी दिए। अर्थसङ्कलनका लागि स्थानीय धनबहादुर सेन्च्युरीको संयोजकत्वमा पूर्णबहादुर र दलबहादुर विक बचाउ अभियान गठन गरिएको छ।
झापाको भद्रपुर, विर्तामोड र दमकमा डाइलासिस सेवा उपलब्ध भए पनि बिरामीको अत्यधिक भीड भएकोले विराटनगरमा लैजानु परेको मग्रातीले बताए। रासस

प्रकाशित मिति : २३ पुस २०७६ बुधबार ००:००  ३ : ५२ बजे