८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

आज पनि देशभर वर्षा र हिमपात हुने , चिसो गढ्यो



काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशभर परेको जल तथा मौसम पूवानुमान महाशाखाले जनाएको छ । सोही मौसमी प्रणालीको प्रभावका कारण देशभरको मौसम बदली भएको छ ।हाल देशका पश्चिमी क्षेत्रमा सामान्यदेखि पूर्ण बदलीको अवस्था छ । काठमाडौँ उपत्यकासहितका बाँकी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भएको छ । बुधबार दिनभर देशभर सामान्यदेखि पूर्ण बदली हुने मौसमविद सजिना शाक्यले बताएकी छन् । पश्चिम र मध्यका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
पूर्वी क्षेत्रमा हल्का वर्षा हुने जनाइएको छ । यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेको जनाइएको छ । बुधबार राति पनि देशभरको मौसम बदली भई पश्चिमका केही स्थान र मध्य तथा पूर्वका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् । राति पनि देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना छ ।
बदलीका कारण काठमाडौँसहित देशभरका अधिकांश ठाउँको न्यूनतम तापक्रम बढेको छ । तर अधिकतम तापक्रम कम हुने भएकाले जाडो अत्याधिक हुने अनुमान छ । बिहान ७ डिग्री मापन भएको काठमाडौँको तापक्रम दिउँसो बढेर १२ देखि १४ डिग्रीसम्म मात्रै पुग्ने अनुमान छ ।

प्रकाशित मिति : २३ पुस २०७६ बुधबार ००:००  ८ : ४० बजे