८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

विवादका बीच अस्ट्रेलियामा नेपाल भ्रमण वर्ष सुरु, खासमा के भएको थियो ?



सिड्नी ।

विवादकाबीच अस्ट्रेलियाको सिड्नीमा नेपाल भ्रमण वर्ष २०२० को औपचारिक रुपमा सुरु गरिएको छ । सिड्‌नीको पर्यटकीयस्थल ‘सर्कुलर की’बाट नेपाल भ्रमण वर्ष २०२० को अस्ट्रेलियामा औपचारिक सुरुवात भएको हो । एक लाख अस्ट्रेलियाली पर्यटकलाई नेपाल भित्र्याउने दाबीका साथ सुरु गरिएको कार्यक्रममा अधिकांश नेपालीसहित केही विदेशीहरु सहभागी रहेका थिए । कार्यक्रममा पर्यटन तथा संस्कृति मन्त्री योगेश भट्टराई, न्यु साउथ वेल्स राज्य विधानसभाका सभामुख जोनाथन ओडिआ, पूर्व प्रिमियर नाथन रिस, विदेश विभागका अधिकारी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै संस्कृति मन्त्री योगेश भट्टराईले गत वर्ष ३८ हजार अस्ट्रेलियालीले नेपाल भ्रमण गरेको जानकारी दिँदै यसवर्ष यो संख्या १ लाख पुरयाउने दाबी गर्नुभयो । उमंगलबारदेखि विश्वभरि औपचारिक रुपमा सुरुवात गरिएको भन्दै अब अभियान सुरु मात्रै भएको बताउनु भयो । कार्यक्रमलाई सफल बनाउनका लागि एनआरएनले ओसिनिया क्षेत्रका लागि दिनेश पोखरेलको संयोजकत्वमा मूल समिति बनाएर काम गरिरहेको छ।

कार्यक्रममा ‘भिजिट नेपाल २०२०’ लेखिएको टिसर्ट वितरण गरिएको थियो भने सहभागीहरुलाई नेपाल भ्रमण वर्षको बारेमा जानकारी दिइएको थियो । कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल, अवैतनिक महावाणिज्यदूतहरु दीपक खड्का र चन्द्र योञ्जन, वाणिज्यदूत दीपक धमला, फ्रेड ब्राउन, जो टुमा, एनआरएन उपादक्ष्य मन केसी लगायतको सहभागिता रहेको थियो ।

र्‌यालीलाई किन सुरक्षाकर्मीको अवरोधनेपाल भ्रमण वर्षको र्‍याली निकाल्ने भन्दै मन्त्री भ्टराईको टोली सिड्नीमा भेला भयो, कमजोर व्यवस्थापनसहित। मन्त्री भट्टराईलाई सम्पूर्ण तयारी पुरा गरेको र भव्य र्‍याली निकाल्नु पर्ने भन्दै त्यहाँस्थित नेपाली राजदूत महेश दाहाल लगायतले ढाँटेको पाइएको छ ।

प्रचार–प्रचारका लागि तयार मन्त्री भट्टराईले पनि उनीहरुलाई आँखा चिम्लिएर विश्वास गरे। मन्त्री भट्टराईले आफ्नो पदीय मर्यादा र दायीत्व भुलेको देखिन्छ कार्यक्रमको प्रकृति हेरेर त्यहाँ सामेल हुनेरनहुनेबारे उपयुक्त निर्णय लिन चुकेसँगै ।

मन्त्री सहभागी हुने कार्यक्रममा नियमपूर्वक र चुस्तरुपमा सञ्चालन गर्नु पर्छ भन्नेमा आयोजकले लापरवाही गरे । मन्त्री भट्टराई नेतृत्वको नेपाल भ्रमण वर्षको र्‍याली नेपालको रत्नपार्कमा आयोजना हुने सामान्य कार्यक्रम जत्तिको पनि व्यवस्थित थिएन ।

पैदलयात्रीलाई असर पर्ने गरी अधिकांश नेपालीहरु मात्रै अव्यवस्थित तरिकाले उभिएका थिए । र्‍यालीमा सामेल समाजसेवी दुर्गा दाहालका अनुसार नेपाल भ्रमण वर्षको र्‍यालीमा अष्ट्रेलियन नागरिक सहभागि नहुने या त्यसबारे उनीहरुलाई थाहा नहुनुमा आयोजकको कमजोरी थियो ।

नेपालमा सरकारले भनिरहेको छ,‘जतिसक्दो धेरै विदेशी नागरिक भित्र्याउने । त्यसका लागि उनीहरुलाई पर्याप्त जानकारी दिने ।’ तर त्यहाँ आयोजना गरिएको कार्यक्रममा अधिकांश नेपाली मात्रै झुम्मेको देखेपछि आफूलाई नराम्रो लागेको दाहालले बताए ।
र्‍याली कार्यक्रममा एनएसडब्लुका सभामुखले बोल्न खोज्दा माइकले काम नगरेपछि उनी माइक फालेर बोल्न बाध्य भएका थिए ।
अव्यवस्थित र्‍यालीबारे त्यहाँको सुरक्षा अधिकारीले सुइको पाउन धेरै बेर लागेन ।

सुरक्षा अधिकारीले खोजीनीति गर्दा र्‍याली आयोजकले सुरक्षा निकायबाट अनुमति नलिएको पाइएको खबर छ । औपचारिक कार्यक्रमपछि करिब १ किलोमिटरमा रहेको पर्यटकीयस्थल ओपेरा हाउससम्म पैदल यात्रा गर्दै गएको नेपाली टोलीलाई सुरक्षाकर्मीले रोकेका थिए ।

प्रकाशित मिति : २२ पुस २०७६ मंगलबार ००:००  ३ : २६ बजे