चन्द्रकान्त न्यौपाने, वाणगंगा ।
नेपाल राष्ट्रिय शिक्षक संगठन सार्कका पूर्व अध्यक्ष बाबुराम थापा शनिबार कपिलवस्तुमा भएको कार्यक्रममा औधि खुसी देखिए । शिक्षक संगठन जिल्ला कार्यसमिती कपिलवस्तुले आयोजना गरेको नव आगन्तुक शिक्षकहरुलाई स्वागत कार्यक्रममा प्रमुख अतिथिको रुपमा आएका थापा खुसीले तिन छक पर्नुको कारण अर्कै थियो । एउटा पोशाकमा ठाँट्टिएर आएका थापाको भेषभुषा पनि एकाएक बदलियो । उनी पुरानो कपडा फुकालेर तुरुन्तै नयाँ पोशाकमा देखिए । प्रमुख अतिथि आउँदा एक पोशाकमा, मन्तव्य राख्दा अर्को पोशाकमा ? यो दृश्यले दर्शक दीर्घामा पनि खित्का मच्चियो । मञ्चासिन अतिथिहरु पनि यो दृश्यपछि कार्यक्रम अवधिभर ओँठ च्यातेरै बसिरहे । आयोजकले प्रमुख अतिथिलाई मायाको चिनोस्वरुप सटिङ सुटिङको व्यवस्था गरेको थियो ।
मायाको चिनोस्वरुप सटिङ सुटिङको ब्यवस्था मात्र थिएन प्रमुख अतिथिलाई त्यही पोशाकमा सजिएर सम्बोधन गर्नु पर्ने बाध्यता थियो । आयोजकको यो बाध्यता स्विकार्न प्रमुख अतिथि बाध्य हुँदा यो नौलो दृश्य देखिएको थियो । यो दृश्यले सबैलाई फरकपनको अनुभूति दिलाएन मात्र सबैलाई मुखामुख गर्ने बनायो । आयोजकको आग्रहलाई स्विकार्दै उनी नयाँ सुटमा सजिएर मञ्चमा बोल्दै गर्दा मुसुमुसु मुस्कुराएको खुसी फुत्त बाहिरै आयो । मन्तव्य राख्ने क्रममा पनि उनको ओँठबाट त्यो खुसी फुत्किहाल्यो । नयाँ कोटमा सजिए पछि उनी निकै फुरुङ्ग पनि थिए । खुसीको मुद्रामा हत्पत् गर्दै माइक साँतेका थापाले पनि भनिहाले । यस्तो कार्यक्रम त नेपालमै नौलो भयो । आयोजकको अनौठो स्वागत सम्मान देखेर आफु तिन छक परेको भन्दै उनले प्रश्न गरे, ‘यतिविधि गर्न कपिलवस्तुका शिक्षहरुलाई कसले सिकायो ? यो नौलो शैली र सम्मानले आफू अचम्ममा परेको भन्दै उनले आयोजकलाई हाँसेरै धन्यबाद दिए ।
कोटपाइन्ट शिक्षकहरुको गर्विलो पहिचान भएकोले आफूहरुले नौलो प्रयोग गरेको अध्यक्ष रमेश पन्थीले बताए । हरेक शिक्षकले यो कोटको सम्मान गर्नुपर्दछ, उनले भने, ‘सबै शिक्षकहरुले अनिवार्य रुपमा कोटपाइन्टमा सजिएर शिक्षा दिनुपर्दछ भन्ने सन्देश पनि हो ।’ नयाँ कोटमा सजिने वित्तिकै सम्बोधन गरेका प्रमुख अतिथि थापाले पनि शिक्षकले कोटको गरिमा बचाउने गरी काम गर्नुपर्ने बताए । उनले सरकारले राज्यमा शिक्षकहरुको आत्म सम्मान र हैसियत बढ्नुपर्ने बताए ।
पूर्वअध्यक्ष थापाले शिक्षा ऐन माग महिना भित्र आउने भन्दै शैक्षिक समस्या समाधान हुने विश्वास ब्यक्त गरे । उनले दरबन्दी मिलान कार्यन्वयनमा ल्याउनुपर्ने बताउँदै राहत शिक्षक बीच आन्तरिक प्रतिष्प्रर्धा हुने बताए । बालबिकासका शिक्षकको तलव बृद्धी हुने भन्दै उनले निष्ठावान भएर शिक्षक पेशामा लाग्न आग्रह पनि गरे ।
विशिष्ट अतिथी संगठनका केन्द्रिय कोषध्यक्ष विष्णु भण्डारीले शैक्षिक ऐनले शिक्षकहरुका समस्या समाधान दाबी गरे । सांसद विष्णु पन्थीले सम्पूर्ण शिक्षकले गुणस्तरिय शिक्षामा ध्यान दिन जरुरी रहेका बताए । नेकपाका नेता झविलाल पोख्रेल, शिक्षक संगठन कपिलवस्तुका पूर्व अध्यक्ष खुमप्रसाद आयार्च लगायतले शिक्षक पहिले आफू ठिक भए त्यहाँबाट उत्पादन हुने विद्यार्थी स्वतहः ठिक हुने बताए । शिक्षक संगठनका जिल्ला रमेश पन्थीको अध्यक्षता, उपाध्यक्ष झविन्द्र भण्डारीको स्वागतमा सम्पन्न कार्यक्रमको संचालन गोबिन्द बेल्वासेले गरेका थिए । कार्यक्रममा जिल्लाभरका शिक्षकहरु सहभागि थिए ।
२० पुस २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया