७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

भ्रमण वर्षः मुख्यमन्त्रीसहित सांसदहरु हात्तीमा सरर…



नेपालगन्ज ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बाँके राष्ट्रिय निकुञ्जमा भ्रमण वर्ष २०२० अवसरमा जंगल सफारीको शुभारम्भ गरेका छन् ।
यसअघि मुख्यमन्त्री पोखरेलले बुधबार मध्यराति १२ बजे नेपालगन्जको चार तारे होटल सिद्धार्थबाट प्रदेश ५ मा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ बाँकेबाट भएको घोषणा गरेका थिए ।
मुख्यमन्त्री पोखरेलले बाँके निकुञ्जमा शुरु भएको जंगल सफारीले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने बताए । उनले भने, ‘बाँके आउने पर्यटककका लागि जंगल सफारी थपिएको छ । यो खुसीको कुरा हो । सुरुमा बाह्य पर्यटनको धेरै अपेक्षा गर्नुभन्दा आन्तरिक पर्यटन प्रबद्र्धनमा जोड दिनुपर्छ ।’
उनले प्रदेश ५ मा होटल व्यवसाय क्षेत्रमा बाँके जिल्लाले फड्को मारेकोमा प्रशंशा गर्दै होटल व्यवसायीलाई बाँके र बर्दिया निकुञ्ज, रारालगायतका टुर प्याकेज बनाएर भारतीय पर्यटकलाई आकर्षित गर्न सुझाव पनि दिए ।
नेपाल पर्यटन वर्ष २०२० लाई सफल बनाउन मुख्यमन्त्री पोखरेलले कम्तीमा महिनामा एक पटक स–परिवार अन्तरजिल्ला घुम्न पनि सुझाव दिएका थिए ।
बाघ संरक्षणका लागि स्थापना गरिएको देशकै एक मात्र बाँके निकुञ्जमा तीन वर्षदेखि ४ वटासहितको दुई वटा हात्तीसार स्थापना गरिएको भए पनि औपचारिक रुपमा हात्ती सफारी भएको थिएन ।
नेपाल पर्यटन वर्ष २०२० को अवसरमा बाँके जिल्ला स्तरीय पर्यटन प्रबद्र्धन समितिले बुधबार बिहान साढे ८ बजेतिर कोहलपुर नगरपालिकाको खड्गवारस्थित हात्तीसारमा आयोजना गरेको निकुञ्जमा जंगल सफारी कार्यक्रमको शुभारम्भ मुख्यमन्त्री पोखरेलले हात्ती चढेर गरेका हुन् ।
मुख्यमन्त्रीसँगै उनकी पत्नी तथा प्रतिनिधिसभा सदस्य सुजाता शाक्य, प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरी दम्पत्ती, बाँकेका प्रतिनिधिसभा सदस्य महेश्वर गहतराज ‘अथक’, प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमूना’, बाँकेका सबै स्थानीय तहका जनप्रतिनिधिले हात्ती सफारी गरे ।
बाँके राष्ट्रिय निकुञ्जका वार्डेन प्रमोद भट्टराईका अनुसार नेपाल पर्यटन वर्षका अवसरदेखि निकुञ्जमा हात्ती र जंगल सफारी सर्वसाधारणका लागि खुला गरिएको छ ।
कोहलपुर नगरपालिकाको खड्गवार र राप्ती सोनारी गाउँपालिको बुच्चापुरमा दुई ठाउँमा हात्तीसार राखेर हात्ती सफारीको व्यवस्था गरिएको छ । बिहान र बेलुकाको समय हात्ती सफारी गर्न सकिन्छ । त्यसैगरी गाभरदेखि अगैयासम्म ६५ किलोमिटर क्षेत्रमा साढे तीन घण्टामा जीप सफारी पनि गर्न सकिन्छ ।
सन् २०१३ मा ५ वटा बाघ भेटिएको निकुञ्जमा सन् २०१८ को गणनाले बाघको संख्या २१ पुगेको देखाएको छ । पूर्वपश्चिम राजमार्ग र रत्न राजमार्गसँग जोडिएको बाँके निकुञ्ज नेपालगन्ज विमानस्थलबाट २५ किलोमिटरको दुरीमा पुग्न सकिन्छ ।

प्रकाशित मिति : १६ पुस २०७६ बुधबार ००:००  ४ : ०८ बजे