७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

टिकटक प्रयोगमा प्रतिबन्ध, यस्तो छ कारण



एजेन्सी ।
अमेरिकी सेनाले लोकप्रिय बनेको टिकटक एपको प्रयोगमा प्रतिबन्ध लगाएको छ । सुरक्षाको कारण देखाउँदै अमेरिकी सेनाले बढ्दो लोकप्रियताका क्रममा रहेको टिकटक एपको प्रयोग कार्यालय प्रयोजनमा प्रयोग हुने मोबाइल फोनमा चलाउन रोक लगाएको हो । चिनियाँ कम्पनी बाइट डान्सको स्वामित्व रहेको टिकटकमाथि अमेरिकासहित विभिन्न मुलुकमा कडा निगरानी राखिएको छ ।
अमेरिकी सेनाकी प्रवक्ता प्रमुख सेनानी रोबिन ओचोआले अमेरिकी टिकटक एपलाई साइबर खतराका रूपमा हेरिएको बताएकी छिन् । विश्वभरी करिब ५० करोड प्रयोगकर्ता रहेको टिकटकले प्रायःजसो फरक किसिमका छोटा भिडिओ आफैँ सम्पादन गरेर सार्वजनिक गर्न सहयोग गर्छ । कुनै गीत वा हँसाउने भिडिओमा करिब १५ सेकेन्ड ओठ मिलाउँदै अभिनय गर्न र त्यसलाई अरूले हेर्न मिल्ने गरी सार्वजनिक गर्न सकिने एप युवा प्रयोगकर्तामा निकै लोकप्रिय छ । एपका सबै खाता शुरूमा सबै प्रयोगकर्ताले हेर्न सक्ने खाले हुन्छन्। तर त्यसमा केही प्रतिबन्ध लगाउन सक्ने सुविधा भने प्रयोगकर्तासँग हुन्छ। सेना प्रवक्ता ओचोआका अनुसार सैन्य अधिकारीहरूलाई सरकारी स्वामित्वमा रहेका मोबाइल फोनहरूमा डिसेम्बर महिनाको तेस्रो साताबाट एप प्रयोग नगर्न सुझाव दिइएको हो । सेनाले निजी मोबाइल फोनमा सो एपको प्रयोगमा रोक लगाउन नसक्ने भए पनि रक्षा मन्त्रालयले हालसालै कर्मचारीहरूका लागि निर्देशिका जारी गरेको छ । जसमा आफूले डाउनलोड गर्ने एपहरूबाट सावधान रहन भनिएको छ। सो एप अमेरिकी नागरिकहरूको डेटा जमा गर्न प्रयोग गर्न सकिने र त्यसले चीनका लागि गोप्य सूचना संकलनमा सहयोग गर्न सक्ने हुँदा राष्ट्रिय सुरक्षामा असर पार्न सक्ने भन्दै सांसदहरूले चिन्ता व्यक्त गरेका छन्। हालसालै टिकटकले भने अमेरिकी प्रयोगकर्ताहरूको डेटा चीनभन्दा बाहिर राखिएको र त्यसमा चिनियाँ कानुनको अधीनमा नरहने बताएको थियो।

प्रकाशित मिति : १६ पुस २०७६ बुधबार ००:००  १२ : ३७ बजे