मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगामा अवस्थित मनकामना सामुदायिक बनले घरवार विहिनलाई बसोबास योग्य घर बनाइदिने भएको छ । बनका उपभोक्ता मध्ये एकदमै गरिब १६ घरपरिवारलाई यो बर्ष सामुदायिक बनले बसोबास योग्य घर बनाई दिनेभएको हो । मनकामना सामुदायिक बन उपभोक्ता समूहको शनिबार सम्पन्न १३ औं बार्षिक साधारणसभामा अध्यक्ष अमित पौडेलले ०७६÷०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त कुराको जानकारी दिनुभएको छ ।
सामुदायिक बनले यो बर्ष विपन्नमूखी कार्यक्रम तर्फ सामुदायिक विद्यालयमा अध्ययन गर्ने अति विपन्न बालबालिकाको सहयोगका लागि सहयोग कोष स्थापना, विपन्न, महिला तथा दलित परिवारलाई लक्षित गरी हस्तकला, पल्मविङ्ग, इलेक्टिीसियन, कारपेन्टर र कृषि व्यवसायसंग सम्बन्धित तालिम दिने भएको छ । अति विपन्न तथा असहाय उपभोक्ताहरुलाई आपतकालिन सहयोग अनुदान कोष स्थापना गर्ने देखि युवा शसक्तिकरण कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष पौडेलले साधारणसभामा जानकारी दिनुभयो ।
यसैगरी मनकामना सामुदायिक बनले बन विकास कार्यक्रम तर्फ ईको पार्क निर्माण, नदी कटान नियन्त्रण, १० किलोमिटर अग्नी रेखा निर्माण, पुर्नउत्पादन क्षेत्रमा तारवार लगायतका काम गर्ने भएको छ । भौतिक विकासमा पनि लाखौं रकम खर्च गर्दै आएको बनले यो बर्ष सरकारी योजनामा नपरेका र नेपाल सरकारबाट तोकिएको मापदण्ड पूरा भएका योजनामा खर्च गर्ने गरी काम गर्ने बनले जनाएको छ । कृषि पूर्वधारतर्फ बनले समूह भित्रका कूलो, नहर मर्मत, साचा निर्माण, मलखाद अनुदान सहयोग, नयाँ खेती प्रविधिका अनुदान जस्ता लोकप्रिय कार्यक्रम ल्याएको छ ।
साधारणसभाको उद्घाट समारोहमा बोल्दै जिल्ला बन डिभिजन कार्यालय तौलिहवाका प्रमुख ईश्वरी पौडेलले सामुदायिक बनले समुदायको भावनालाई मध्यनजर गरी अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । सामुदायिक बनको संरक्षण समुदायले नै गर्नुपर्ने भन्दै राज्यका ऐन, नियमको पनि कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । सामुदायिक बनको बृद्धि विकासमा डिभिजन बन कार्यालयले हरपल साथ दिने उहाँले प्रतिवद्धता जनाउनुभयो । उक्त अवसरमा वडा नं. १ का वडाध्यक्ष बालकुमारी अधिकारी, वडा नं. २ का वडाध्यक्ष विष्णु पौडेल लगायतले बोल्नुभएको थियो ।
साधारणसभामा संस्थाका सचिव गंगाकुमारी भट्टराईले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष जयलाल भण्डारीले आव ०७५÷०७६ को आर्थिक प्रतिवेदनको प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष पौडेलद्धारा प्रस्तुत आव ०७६÷०७७ को नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत ढंगले सुझावसहित पारित भएको साधारणसभाको स्वागत मन्तव्य बनका उपाध्यक्ष पुष्कर घिमिरेले राख्नुभएको थियो ।
१३ पुस २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया