एजेन्सी ।
विद्रोही संगठन इस्लामिक स्टेट (आइएस) ले एक भिडियो सार्वजनिक गरेर नाइजेरियामा ११ जनाको हत्या गरेको दाबी गरेको छ । हत्या गरिएका सबै इसाई धर्मावलम्बी रहेको र उनीहरुको हत्या घाँटी रेटेर गरिएको आइएसले दाबी गरेको छ । आइएसको समाचार संस्था अमाकले सार्वजनिक गरेको भिडियोमा केही व्यक्तिको घाँटी छिनाउँदै गरेको देखाइएको छ ।
भिडियो ५६ सेकेण्डको छ । मारिनेका बारेमा थप केही खुलाइएको छैन, तर उनीहरु सबै पुरुष हुन् । नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोबाट अपहरण गरिएका ती व्यक्तिको हत्या बदलाका लागि भएको आइएसले बताएको छ ।
गएको अक्टोबरमा सिरियामा भएको आफ्ना सर्वोच्च नेता तथा प्रवक्ताको हत्याको बदला लिन ११ जनाको हत्या गरिएको आइएसले जनाएको छ। सो भिडियो बिहीबार सार्वजनिक भएको हो ।
भिडियोमा अज्ञात स्थानमा गोली हानेको आवाज आउँछ । त्यसपछि एकजनामाथि गोली हानिन्छ र बाँकी १० जनालाई भूईँमा लडाएर घाँटी काटेको देखिन्छ ।
गएको अक्टोबरमा आइएसका तत्कालनीन नेता अबु बकर अल–बग्दादी र प्रवक्ता अबुल हसन अल–मुहाजिरको सिरियामा मृत्यु भएको थियो ।
त्यसको दुई महिनापछि डिसेम्बर २२ मा आइएसले आफ्ना नेताको मृत्युको बदला लिने भन्दै नयाँ सैन्य अभियान सुरु गरेको बताएको थियो । त्यसपछि विभिन्न देशमा भएका आक्रमणको जिम्मा आइएसले लिएको छ ।
१२ पुस २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया