मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा नगर स्तरीय पर्यटन प्रबर्धन विकास समिति गठन भएको छ । शुक्रबार नगरपालिकामा भएको सर्वपक्षिय बैठकबाट नगर प्रमुख केशव कुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्यिय समिति गठन भएको हो ।
नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्नका लागि प्रदेश सरकारले स्थानीय सरकारमा पर्यटन प्रवर्धन विकास समिति गठन गर्न परिपत्र गरेसंगै बुद्धभूमिले शुक्रबार उक्त समिति गठन गरेको हो ।
नगरपालिकाका विभिन्न राजनीतिक दल, उद्योगी व्यवसायी, समाजसेवी, महिला लगायतको उपस्थितीमा गठन गरिएको समितिको सदस्यहरुमा पवनकुमार थारु, रुपेश श्रेष्ठ, इन्द्रमणी पौडेल, मिना केसी, शिवलाल यादव, पुष्पा थारु, शुभलाल भुसाल, बसन्त श्रेष्ठ, दिपक अनुरागी र सदस्य सचिवमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पाण्डे रहनुभएको छ ।
प्रदेशले नै समिति गठनका लागि मापदण्ड तोकेको थियो । त्यही मापदण्डलाई आधार मानेर बुद्धभुमिमा समिति गठन भएको नगरपालिकाले जनाएको छ ।
बैठकबाट बुद्धभूमि नगर क्षेत्रभित्र सम्भावना भएका पर्यटकीय क्षेत्रहरुको पहिचान गरी १५ दिन भित्र पुरातात्विक पर्यटकीय क्षेत्रहरुको विवरण पेश गर्नका लागि ५ सदस्यिय पर्यटकीय क्षेत्र पहिचान समिति पनि गठन गरिएको छ । जसको सदस्यहरुमा रुपेश श्रेष्ठ, विष्णु हरि शर्मा, कमल अधिकारी रहनुभएको छ भने नगरपालिकाका उद्योग पर्यटन शाखाका अधिकृत विजय भुसाल सदस्य सचिवमा रहनुभएको छ । यो समितिको संयोजक नगर कार्यपालिकाबाट तोकिने बताइएको छ ।
यसैगरी बैठकले पर्यटन प्रवर्धन विकास समिति सञ्चालन कार्यविधि, २०७६ को मस्यौदा तयार गर्नका लागि बुद्धभूमि नगरपालिकाका प्रशासन अधिकृत राजन कुमार पोख्रेललाई जिम्मेवारी दिने निर्णय गरेको छ । पोख्रेलले मस्यौदा कार्यविधि तयार पारी आगामी बैठकमा पेश गर्नुहुने छ । समितिलाई अझ क्रियाशिल बनाउनका लागि आगामी दिनमा विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका थिए ।
११ पुस २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया