नवलपरासी ।
उखु बेचेको रकम पाउनुपर्ने भन्दै आन्दोलन थालेका पश्चिम नवलपरासीका किसानले आन्दोलन स्थगित गरेका छन् । किसान र उद्योगीबीच सहमति भएसँगै आन्दोलन स्थगित गरेको उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिनुभयो । पश्चिम नवलपरासीमा तीनवटा उखु उद्योगले दिन बाँकी भएको झण्डै ४० करोड रुपैयाँमध्ये हरेक महिना ५ करोडका दरले किसानलाई भुक्तानी दिने सहमति गरेकाले आन्दोलन स्थगित गरेको उहाँले बताउनुभयो । पश्चिम नवलपरासीमा रहेका लुम्बिनी चिनी उद्योग, बाग्मती चिनी उद्योग र इन्दिरा सुगर मिलले अब २५ गतेदेखि मिल सञ्चालन गर्ने भएका छन् ।
अहिले सहमति गरेर भुक्तानी नदिए थप आन्दोलनका कार्यक्रम गर्ने अध्यक्ष यादवले बताउनुभयो । पश्चिम नवलपरासीमा वर्षको १८ देखि २० लाख क्विन्टल उखु उत्पादन हुन्छ भने झण्डै १० हजार परिवार उखु खेतीमा संलग्न छन् ।
तर चिनी मिलले उखु किनेको रकम समयमै नदिँदा किसान बर्सेनि आन्दोलन गर्न बाध्य हुनुपरेको किसानको गुनासो छ ।
११ पुस २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया