दाङ ।
सरकारले तोकेको भन्दा सात महिना अघि नै पुल बनाउने एकजना ठेकेदार सम्मानित भएका छन् । घोराही तुलसीपुर सडक खण्डको ग्वार खोलामाथिको पुल निर्धारित समय भन्दा सात महिना अगाडि निर्माण गर्ने कालिका-रसुवा जेभी कन्ट्रशनका प्रतिनिधि सिनेटमान श्रेष्ठलाई सम्मान गरिएको हो ।उनलाई बिहीबार घोराही उप-महानगरपालिकाका प्रमुख नरुलाल चौधरीसहितले सम्मान गरेका हुन् ।
श्रेष्ठलाई लमही नगरपालिका प्रमुख कुलबहादुर केसी, बबई गाउँपालिका अध्यक्ष भुबनेश्वर पौडेल, दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषाल, महासचिव नरेश कार्की, प्रेस संगठन दाङका अध्यक्ष प्रकाश चौधरीसहितले माला, खादा तथा सम्मानपत्र दिएर सम्मानित गरेका हुन् ।
श्रेष्ठलाई सम्मान गर्ने कार्यक्रममा उद्योग वाणिज्य संघ बिजौरीको टोलीले नै सहभागी थियो । यसरी बन्यो पुल ग्वार पुलको निर्माण गर्ने जिम्मा कालिका-रसुवा जेभीको रसुवा निर्माण कन्ट्रक्सन कम्पनीले वि.सं. २०७४ साल असार ११ गते पाएको थियो । निर्माण कम्पनीले आगामी असार मसान्तसम्म हस्तान्तरण गर्ने सम्झौता भए पनि मङ्सिर अन्तिमा नै सम्पन्न गरेको हो । पुलको भुक्तानी तथा प्राविधकको काम पुल योजना महाशाखा सेक्टर नंम्बर ३ बाँकेको छ । महाशाखाका इञ्जिनियर विश्व केसीले २८ करोड ३७ लाख ६६ हजारको लागतमा पुल निर्माण सम्पन्न भएको बताए । उनले २२० मिटर लम्बाइ र साढे १० मिटर चौडाइको पक्की पुल निर्माणका लागि कार्यालयले विसं २०७४ असार ११ गते सम्झौता गरी २०७७ साल असारसम्ममा निर्माण गर्ने गरी जिम्मेवारी दिएकामा निर्माण कम्पनीले सात महिना अगाडि निर्माण सकेर बुधबारदेखि सञ्चालनमा ल्याएको पनि जानकारी दिए । उनका अनुसार कार्यालयले भौतिक पूर्वाधार मन्त्रालयमा पुल निर्माण सम्पन्न भइसकेको लिखित जानकारी गराइसकेको छ ।
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले सामाजिक सञ्जालमा समृद्ध नेपाल बनाउने सपना पूरा हुँदै आएको भन्दै तुलसीपुर-घोराही सडकखण्डको ग्वार खोलामा तोकिएको समय अगावै निर्माण कम्पनीले निर्माणको काम सम्पन्न गरी सञ्चालनमा आएकोमा धन्यवाद दिए । यही निर्माण कम्पनीले कपडादेवीदेखि मानपुर जोड्ने ग्वार खोलामा पक्की पुल र टरिगाउँदेखि ललौरा जोड्ने ग्वारखोलाकै पक्की पुल पनि तोकिएको समयभन्दा छ महिना पहिले नै निर्माण गरेको थियो । ती दुवै पुल २०० सय मिटर लामो र १० मिटर चौडा रहेका छन् । त्यहाँ पुल निर्माण भएपछि तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडाका नागरिकलाई यातायातमा पहुँच पुगेको छ । त्यहाँका किसानहरुका तरकारी, खाद्यान्न सामग्री बिक्रीका लागि तुलसीपुर बजारमा ल्याउन सजिलो भएको छ ।
प्रतिक्रिया