जनकपुर ।
बुहारीको हत्या गरी फरार रहेका जेठाजुलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । धनुषाको मिथिला नगरपालिका–९ स्थित बडहरीमा खुकुरी प्रहार गरी जनकपुर उपमहानगरपालिका–२१ घर भएकी ३८ वर्षीया रानी देवीलाइ जेठाजु श्रीप्रसाद पंजियारले बुधबार हत्या गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको संयुक्त प्रहरी टोलीले पंजियारलाई जनकपुरधाम उपमहानगरपालिका–१ स्थित रेल्वे ट्र्याकबाट नियन्त्रणमा लिएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । व्यक्तिगत रिसिइबीका कारण श्रीप्रसादले बुहारीमाथि खुकुरी प्रहार गरेको प्रारम्भिक अनुसन्धाबाट खुलेको छ । बुधबार दिउँसो बडहरीस्थित आँपको बगैंचामा श्रीप्रसादले बुहारी रानीको टाउको, नाक र बायाँ हातको तीनवटा औँला काटेर फरार भएका थिए ।
गम्भीर घाइते बनेकी रानीको उपचारका लागि प्रदेश अस्पतालमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते अवस्थामै रानीले आफूलाई जेठाजुले खुकुरी प्रहार गरेको बयान दिएकी थिइन् । मृतक रानीका पति मिश्री पंजियार वैदेशिक रोजगारीमा छन् ।
प्रतिक्रिया