दिपक अनुरागी, (शुद्धोधन) कपिलवस्तु ।
पुसको ठिराउँदो चिसो । रिर्पोटिङ गर्नका लागि हामी कपिलवस्तुको दक्षिणी क्षेत्रमा गएका थियौं । त्यस वखतमा एउटा फुसको घरमा सयौं केटाकेटी उपस्थित भएको हाम्रो आखाँले देख्यो । किन यसरी फुसको घरमा यति धैरै केटाकेटी देखिए भनेर हामीमा उत्सुकता जाग्यो । हामीले झोलाबाट क्यामेरा झिकेर उक्त स्थान पुग्यो । त्यहाँ पुग्दा त यो त कुनै फुसको घर नभएर एक नीजि स्कूल पो रछ । हामी अचम्ममा पर्यौं । हत्तपत्त क्यामेराबाट दृश्य कैद गर्न थाल्यौं । क्यामेरामा दृश्य कैद गर्दा गर्दै विद्यार्थीहरु झुम्मिए । हामीले सोध्यौं यहाँ किन आएको ? अधिकांशले उत्तर दिए बोर्डिङ स्कूलमा अध्ययन गर्न । अनि फेरी हामीले सोध्यौं यस्तो पनि बोर्डिङ स्कूल हुन्छ र ? विद्यार्थीले उत्तर दिए अन्त हुन्न यहाँ हुन्छ । विद्यार्थीले यसो भनिरहदा हामी एकैछिन घोत्लियौं । मनमा अनेक प्रश्न उठे । मनले मानेन । फेरी विद्यार्थीलाई प्रश्न सोध्यौं–‘यहाँ पढेको मासिक कति तिर्नुपर्छ’ ? कक्षा ३ मा पढ्ने एक विद्यार्थीले जवाफ दिए मैले मासिक ६ सय तिर्ने गर्छु । संयोग नै मान्नु पर्छ यस बेला दिउँसोको हाफ टिफिनको समय परेछ ।
माथि उल्लेखित विषय कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं. १ सोहसामा रहेको एक नीजि विद्यालयको परिवेश हो । शिक्षा सेवाभन्दा बढी व्यवसायमूलक भयो भनेर बेला–बेला टिकाटिप्पणी उठिरहेको बेला यहाँस्थित न्यू आदर्श बोर्डिङ स्कूलले थप प्रमाण दिन खोजेको छ । कक्षा ५ सम्म अध्ययन अध्यापन हुँदै आएको यस विद्यालयले कक्षा ३ को मात्र अनुमती लिएको छ । स्कूलका प्रिन्सिपल नार्कल यादवले विद्यालयले कक्षा ३ को मात्र अनुमती पाएको बताए । अब ५ सम्मको अनूमति लिने प्रक्रियामा छु, शुद्धोधन गाउँपालिकामा भेटिएका उनले मायादेवीसंग भने । उनले यसो भनिरहदा स्कूलले ढुक्क साथ कक्षा ५ सम्म अध्ययन अध्यापन गराउँदै आएको छ ।
विद्यालयको अवस्था निकै नाजुक छ । विद्यालय फुसको छानोबाट बनाइएको छ । अटि नअटि विद्यार्थी कक्षा कोठामा अध्ययन गर्छन । साना–साना ५ कक्षा कोठा छन् । सबैमा विद्यार्थी टनाटन छन । विद्यालय वरपर न त कुनै रुखविरुवा छ । न कुनै छहारी नै । वरिपरि खेत । माझमा विद्यालय छ । विद्यालय एकान्तमा छ । वारी–पारी घर मात्र देखिन्छन । न त यहाँ खानेपानीको राम्रो सुविधा छ । न यहाँ विद्युत नै छ । विद्युत करेन्ट स्कुल अगाडीबाटै बगेको छ, तर स्कूल अन्धकारमय छ । शौचालयको सुविधा पनि छैन । तर विद्यार्थी खचाखच छन । लाग्छ बोर्डिङ स्कूल प्रति अभिभावकको विश्वास छोराछोरीको भन्दा बढी हुने रैछ । स्कूल जस्तो भएपनि होडिङ बोर्डमा बोर्डिङ स्कूल लेखेपछि अभिभावकले पठाउने रैछन आफ्ना छोराछोरी । त्यसैले त भएको होला आफै विरामी जस्तो देखिने स्कूलमा यस्तो आकर्षण !
कक्षा ३ मा पढ्ने एक बालकले अब अर्को बर्षदेखि सरकारी विद्यालयमा पढ्ने सोच बनाएको बताए । (नाम गोप्य राखिएको) उक्त बालकले स्कूल पाठशाला जस्तो नलागेर गोठ जस्तो लाग्ने गरेको सुनाए । ‘गर्मीमा पङ्खा हुन्न, खानेपानी हुन्न, शौच गर्ने ठाउँ छैन्, कक्षा कोठामा ठेलाठेल गरेर बस्नु पर्छ, यस्तोमा पनि पढ्न सकिन्छ उनले प्रश्न गर्दै भने, अब अर्को बर्ष आमालाई भनेर सरकारी विद्यालय पढ्ने सोच बनाएको छु ।’
राज्यले सरकारी विद्यालयमा करोडौंको लगानी गरेपनि विद्यार्थीको आकर्षण दिनप्रतिदिन घट्दो छ । न्यू आर्दश फुसको घरमा भएपनि यसले अर्को गम्भिर प्रश्न खडा गरेको छ । किन यति विघ्न अभिभावकको आकर्षण नीजि विद्यालयमा भएको ? अभिभावकलाई आफ्ना छोराछोरी राम्रो पढुन भन्ने जो कसैलाई हुने गरेको छ । आफुले जे जस्तो खाए–लाए पनि छोराछोरीलाई बोर्डिङ स्कूलमा पढायौं भने राम्रो बन्छन भन्ने धेरैको अपेक्षा हुने गर्छ । हेर्दा टोपि खस्ने विल्डिङ सरकारी विद्यालयका भएपनि न्यू आर्दश जस्ता फुसका घरमा छोराछोरी पढाउन बाध्यता कस्ले पार्यो प्रश्न पेचिलो छ । शिक्षक सेवा आयोग पास गरेर आएका शिक्षकबाट सरकारी विद्यालयमा पढाई त हुने गर्छ तर अझै अभिभावकको मन जित्न भने सकिएको छैन । त्यसैको उदाहरण पनि हुन सक्छ न्यू आर्दश ।
शिक्षालाई व्यापारीकरण गर्ने प्रथापनि डरलाग्दो रुपमा अगाडी बढेको छ । संघीयता नआउनु पूर्व तत्कालिन जिल्ला शिक्षा कार्यालयले होचुवाको भरमा नीजि विद्यालय खोल्न अनूमति दिदा समस्या देखिएको हो । विभिन्न आर्थिक प्रलोभन र राजनीतिक दलको दबाबले कपिलवस्तुका कतिपय नीजि विद्यालय खुलेका छन । अहिले संघीयता कार्यान्वयनमा आईसके पछि शिक्षा स्थानीय सरकार मातहतमा छ । स्थानीय सरकारको ध्यान भौतिक विकासमा बढी केन्द्रित छ । शिक्षा ओझेलमा जस्तै छ । विगतमा जिल्ला शिक्षा कार्यालयले दिएको नीजि विद्यालय खोल्ने अनुमतिले अहिले समस्या पारेको स्थानीय सरकारका कर्मचारी बताउँछन । ‘विगतमा शिक्षा कार्यालयले मापदण्ड विपरित अनुमती दियो, अहिले यस्ता विद्यालय बन्द गराउन तत्काल समस्या छ स्थानीय तहका अफिसर स्तरका एक कर्मचारीले मायादेवीलाई भने ।’
हेर्नुहोस थप भिडियो
प्रतिक्रिया