९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

उच्च अदालतले भन्योः पूर्वसभामुख महरालाई थुनामै राख्नू



काठमाडौं ।

बलात्कार अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा थुनामै रहने भएका छन् ।

बलात्कार अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा थुनामुक्त भएनन् । उच्च अदालत पाटनले बलात्कार अभियोगमा थुनामा राखेर मुद्दा सुनुवाइ गर्न जिल्ला अदालत काठमाडौंले दिएको आदेश सदर गर्दै रिहा गर्ने माग अस्वीकार गरेको हो ।

उच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकनारायण कुँवरको संयुक्त इजालासको यो आदेशसँगै गत तिहारको लक्ष्मीपूजाको दिनदेखि थुनामा रहेका महरा मुद्दा नसकिएसम्म थुनामुक्त नुहने भएका हुन् ।

संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार अभियोग लागेका महरालाई प्रहरीले गत ९ असोजमा पक्राउ गरेको थियो ।

महरालाई जिल्ला अदालत काठमाडौंले १८ कात्तिकमा पुर्पक्षका लागि जेल चलान गर्ने आदेश गरेको थियो । सोही आदेशविरुद्ध महरा र उजुरी दिने रोशनी शाहीसमेत महरालाई थुना मुक्त गरिपाऊँ भन्दै उच्च अदालत पाटन पुगेका थिए ।

बलात्कार प्रयासको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै रोशनी शाहीले पनि उच्च अदालत पाटनमा निवेदन दर्ता गराएकी थिइन् ।

रोशनीले निवेदनमा महराविरुद्धको जाहेरीमा आफूलाई जबर्जस्ती हस्ताक्षर गर्न लगाएको, जिल्ला अदालतले थुनामा राख्न गरेको आदेश कानुनसम्मत नभएकोलगायतका कारण उल्लेख गर्दै थुनामा राख्ने आदेश बदर गर्न माग गरेकी थिइन् ।

प्रकाशित मिति : ४ पुस २०७६ शुक्रबार ००:००  ८ : ३७ बजे